आज नेपाल र पाकिस्तान भिड्दै

बकैया दर्पण संवाददाता
३० कार्तिक २०७९, बुधबार १३:०७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५:०० बजे सुरु हुनेछ । करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा रहेको छ ।

नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले प्रि-म्याच कन्फरेन्समा पाकिस्तानविरुद्ध जित निकाल्न टिमको मनोबल उच्च रहेको बताएका छन् । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो । पाकिस्तान पनि नेपाललाई हराएर अन्तराष्ट्रिय फुटबलमा फर्कन चाहन्छ ।

पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरले प्रि-म्याच कन्फरेन्समा नेपालविरुद्ध राम्रो खेल पस्कनेमा आफु आशावादी रहेको बताएका थिए । पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो । नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हुन् ।

नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जितेको छ । पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ । नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग २-२ गोलको बराबरी खेलेको थियो । ढाकामा भएको उक्त खेलमा नेपालका लागि गणेश थापा र मान बहादुर मल्लले एक एक गोल गरेका थिए ।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । नेपालका लागि विमल घर्तिमगरले एक गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*