पाकिस्तान र इंग्ल्यान्ड दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा

बकैया दर्पण संवाददाता
२७ कार्तिक २०७९, आईतवार १०:२९

एजेन्सी । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डबीच आज आइतबार प्रतिस्पर्धा हुदैछ ।

पाकिस्तान र इंग्ल्यान्डबीचको खेल मेलबर्न क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो ।

यस विश्वकपमा दुवै टोलीले सिधै सुपर १२ मा स्थान बनाएका थिए । इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएर सुपर १२ को सुरुआत गरेको थियो । दोस्रो खेलमा आयरल्याण्डसँग डीएल पद्दतीमा ५ रनले पराजित इंग्ल्यान्डले तेस्रो खेल घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासँग वर्षाका कारण खेल्न पाएन । चौथो खेलमा न्युजिल्याण्डलाई २० रनले पराजित गरेको इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो । सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो ।

फाइनलसम्म आईपुग्दा इंग्ल्यान्डका लागि सर्वाधिक रन एलेक्स हेल्सले बनाएका छन् । उनले पाँच खेलमा २ सय ११ रन बनाएका छन् । इंग्ल्यान्डका लागि साम कुरनले १० विकेट लिदै सर्वाधिक विकेट कर्ताको शीर्ष स्थानमा रहेका छन् ।

यता, पाकिस्तान भने पहिलो खेलमा भारतसँग ४ विकेट तथा दोस्रो खेलमा जिम्बावेसँग एक रनले अप्रत्यासित हार व्यहारेको थियो । पाकिस्तानले तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेट तथा चौथो तथा महत्वपुर्ण मानिएको चौथो खेलमा दक्षिण अफ्रिकालाई डीएल पद्धतिको आधारमा ३३ रनले पराजित गर्यो । समूह चरणको पाँचौ तथा अन्तिम खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवान सर्वाधिक रन बनाउनेको सूचीको शीर्ष स्थानमा रहेका छन् । उनले ६ खेलमा १ सय ६० रन बनाएका छन् । उसका लागि शाहिन शाह अफ्रिदीले ६ खेलमा १० विकेट लिदै सर्वाधिक विकेटकर्ताको सुचीमा शीर्ष स्थानमा रहेका छन् । यि दुई टोलीबीच हालसम्म २८ टी-ट्वान्टी खेल भएकामा १८ खेलमा इंग्ल्यान्ड विजेता हुँदा ९ खेलमा पाकिस्तानले जितेको छ । एक खेल भने नतिजा विहीन भएको छ । दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी खेलमा ३ खेलमा इंग्ल्यान्ड र २ मा पाकिस्तान बिजयी भएको छ ।

टी-ट्वान्टी विश्वकपमा हालसम्म यि दुई देश दुई पटक आमने सामने भएकोमा दुवै पटक इंग्ल्यान्ड विजयी भएको छ । यस विश्वकप जुन राष्ट्रले जिते पनि दोस्रो पटक च्याम्पियन बन्ने छन् । यस अघि वेस्ट इण्डिजले मात्र यो सफलता प्राप्त गरेको थियो । २०१२ को चौथो तथा २०१६ को छैठौं संस्करणमा च्याम्पियन बनेको वेस्ट इण्डिजले यो किर्तिमान बनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*