दशरथ रंगशालामा नेपाल र बंगलादेश भिड्दै

बकैया दर्पण संवाददाता
११ आश्विन २०७९, मंगलवार १०:४३

मकवानपुर । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।

घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो ।

हेड टु हेड कस्तो ?

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।

नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गत वर्षको असोजमा खेलेको थियो ।

माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेको थियो ।

उक्त खेलमा सुमन रोजाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । तर, अन्जन विष्टले पेनाल्टीबाट गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । त्यसको करिब एक वर्षपछि नेपालले बंगलादेशसँग खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई हराएको थियो । थ्री नेसन्स कपमा ।

२०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २-१ ले हराएर थ्री नेसन्सको उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*