नेसन्स लिग : जितसँगै पोर्चुगलको सम्भावना बढ्यो

बकैया दर्पण संवाददाता
९ आश्विन २०७९, आईतवार ०९:५८

एजेन्सी । डिएगो डलोटको दुई गोलप्रेरित पोर्चुगलले शनिबार राति यूईएफए नेसन्स लिगमा चेक गणतन्त्रलाई ४–० ले हराउँदै फाइनल खेल्ने सम्भावना कायम राखेको छ ।

२०१९ को विजेता पोर्चुगलले ३३ औँ मिनेटमा डलोटको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले पाहुना टोली पोचुगलको अग्रता दोब्बर बनाए । लगत्तै चेक गणतन्त्रले पेनाल्टी अवसर पाएको थियो । तर, प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्न सकेनन् । उनले हानेको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो । ५२ औँ मिनेटमा डलोटले फर्नान्डेजको पासमा व्यक्तिगत दोस्रो गोल थपे । खेल सकिन ८ मिनेट बाँकी हुँदा डिएगो जोटाले अर्को गोल थपेपछि पोर्चुगलले सहज जित निकालेको हो ।

जितसँगै पोर्चुगल यूईएफए नेसन्स लिग ‘ए’ समूह–२ को शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलले ५ खेलबाट १० अंक जोडेको छ । जुन दोस्रो स्थानको स्पेनभन्दा दुई अंकले माथि हो । पराजित चेक गणतन्त्र चौथो स्थानमा छ । स्विट्जरल्यान्ड ६ अंकका साथ तेस्रो स्थानमा छ ।

अब पोर्चुगलले मंगलबार राति स्पेनसँगको खेल नहारेमा अर्को वर्ष हुने फाइनलमा स्थान बनाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*