महिला साफले नयाँ च्याम्पियन पाउँदै

बकैया दर्पण संवाददाता
२ आश्विन २०७९, आईतवार १४:५९

मकवानपुर । छैठौं संस्करणको साफ महिला च्याम्पियन सिपको फाइनल खेल सोमबार हुँदैछ ।

हालसम्म सम्पन्न पाँच वटै संस्करणको उपाधि विजेता भारत सेमिफाइनलबाट घर फकिँर्दा बंगलादेश र नेपालबीच उपाधिका प्रतिस्पर्धा हुन लागेको हो । जुनकुनै टोलीले उपाधि उचाले पनि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने निश्चित छ । जारी प्रतियोगिताका सबै खेलमा क्लिन सिट राखेका दुवै टोलीले आइतबार भएको प्रि–म्याच कन्फरेन्समा उपाधिका लागि भिड्ने बताएका छन् ।

साविक विजेता भारतमाथिको चुनौती नेपालले सेमिफाइनलमा टुङ्गाउँदै पाँचौ पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेछ । सँगै अघिल्लो संस्करणका तथ्याङ्कमा एक पटक मात्र फाइनलमा स्थान बनाएको बंगलादेशले नेपालको चुनौती सामना गर्न लागेको हो । त्यसो त नेपालले यसअघि भएका सबै भेटमा सुखद् नतिजा निकालेको छ । सोमबार हुने फाइनल खेलमा पनि नेपाल सोही नतिजालाई दोहोर्‍याउन चाहन्छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले उपाधि अर्जुन दृष्टि भएको सोही अनुसार महिला टोलीले लक्ष्य राखेर अगाडि बढेको र एक कदममात्र बाँकी रहेको बताउनु भयो । घरेलु मैदानमा आयोजना हुन लागेको फाइनल खेलमा उपाधि नै मुख्य लक्ष्य भएको र कुनैपनि चुनौती सामना गर्न टोली सबै किसिमले तयार रहेको प्रतिक्रिया दिनुभयो । कुनैपनि हालतमा टिमलाई सन्तुलित बनाउने र सोही टोलीबाट नतिजाको अपेक्षा राखेको बताउनुभयो ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बलियो टोली भारतको चुनौती १–० ले पार गर्दा नेपालले उपाधि भिडन्तका लागि बंगलादेशसँग भिड्नुपर्ने समिकरण बनेको हो । बंगलादेशले पहिलो पटक सेमिफाइनलमा पुगेको भुटानमाथि ८–० को फराकिलो जित निकालेको थियो । सोमबार हुने प्रतिष्पर्धाबाट विजयी टोलीले साफ महिला फुटबलमा नयाँ इतिहास रच्ने निश्चित भएको हो । घरेलु मैदानमा हुने खेलमा नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले कम भन्दा कम गल्ती गर्ने र रंगशालामा उपस्थित भएको दर्शकलाई खुशी दिलाउने प्रतिवद्धता जनाउनु भयो ।

बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गर्दा नेपाल भने पाँचौ पटक फाइनल प्रवेश गरेको हो । सन् २०१६ को संस्करणमा सेमिफाइनलबाट नै बाहिरिएको नेपाल अन्य संस्करणमा भने उपविजेतामा सिमित हुँदै आएको छ । प्रशिक्षक थापाले भने जस्तो सोमबारको फाइनलमा नेपाली टोलीका लागि सहज भने हुनेछैन । नेपाली टोलीका केही अनुभवि र राम्रा खेलाडीमा डेंगुको समस्या देखिएको छ । साथै बंगलादेशले जारी प्रतियोगितामा गरेको प्रदर्शनको आधारम नेपाल भन्दा समिकरणको हिसावमा बलियो देखिएको छ ।

बंगलादेशका प्रशिक्षक गोलाम रब्बानी छोटोनले नेपालको मैदानमा हुन लागेको फाइनल खेल बंगलादेशका लागि सहज नभएको स्वीकार गर्नुभयो । पछिल्ला चार खेलको अनुभवको आधारमा आफ्नो टोलीको मनोबल उच्च रहेको छोटोनले बताउनु भयो । यसअघि विभिन्न प्रतियोगितामा हात पारेको नतिजाको आधारमा पनि आफ्नो टोलीमा अनुभव भएकाले घरेलु टोलीसँग प्रतिस्पर्धात्मक खेल खेल्ने बताउनु भयो । अघिल्ला खेलमा राम्रो खेलेको भन्दै खेलाडीमा कुनै दबाब नभएकोले उहाँले उपाधि जित्नेमा आशावादी रहेको बताउनुभयो ।

बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्समाथि ३–० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्दा दोस्रो खेलमा पाकिस्तानमाथि ६–० को फराकिलो जित निकालेको थियो । यस्तै तेस्रो खेलमा भारतमाथि ३–० को जित निकालेको बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ८–० को फराकिलो जित दर्ता गरेको थियो । बंगलादेशले चार खेलमा कुल २० गोल गरेको छ । बंगलादेशकी सविना खातुनले जारी प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दा बंगलादेशकै लागि ४ गोल गर्ने मोसामत सिरात जहान सोपानको दोस्रो नम्बरमा रहेकी छिन् । जारी प्रतियोगिताको सर्वाधिक गोलकता सविना खातुनले अघिल्ला खेलमा भएको अनुभवको आधारमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेमा आफू आशावादी रहेको प्रतिक्रिया दिनुभयो ।

बंगलादेशसँग भेट पक्का गरेको नेपालले पहिलो खेलमा भुटानबिरुद्ध ४–०, दोस्रो खेलमा श्रीलंकाबिरुद्ध ६–० र सेमिफाइनलमा भारतबिरुद्ध १–० को जित निकालेको छ । नेपालले ३ खेल खेल्दा ११ गोल गर्न सफल भएको छ । नेपाली टोलीका अनुभवि खेलाडी सावित्रा भण्डारी अस्वथाका कारण पछिल्ला दुई खेल गुमाइसकेकी छिन् । सोमबार हुने फाइनलमा सावित्राको उपस्थिति अन्योल बनेको छ । यद्यपि पछिल्लो प्रशिक्षणमा भने उपस्थित भएकी छिन् । उनको चोट नेपालका लागि टाउको दुखाई बनेको छ ।

घरेलु मैदानमा नेपाललाई साफ उपाधि उचाल्ने दोस्रो अवसर हुनेछ । यस अघि विराटनगरमा भएको फाइनलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । तर यो संस्करणमा नेपालको प्रतिद्वन्द्वी भारत भन्दा अर्को टोली आएको छ । अघिल्ला चार संस्करणमा तगारो बन्दै आएको भारत सेमिफाइनलबाट नै बाहिरिँदा सन् २०१६ मा उपविजेता बंगलादेश प्रतिद्वन्द्वी मिलेको हो ।

यस अघिका संस्करणमा नेपाल र बंगलादेश तीन पटक आमनेसामने भएका छन् । सबै भेटमा नेपालले सुखद् नतिजा निकालेको छ । सन् २०१० को पहिलो भेटमा नेपालले बंगलादेशलाई ३–० ले पक्षमा पार्दा २०१४ दोस्रो भेट नेपालले १–० र २०१९ को भेटमा पनि नेपालले ३–० को जित निकालेको थियो । (इमेजखबरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*