युनाईटेडले शीर्ष स्थानको आर्सनललाई हरायो

बकैया दर्पण संवाददाता
२० भाद्र २०७९, सोमबार १०:३४

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्डले दुई गोल गरे । यस्तै डेब्यु खेलाडी एन्टोनी सान्तोसले एक गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए । खेलको १२ औं मिनेटमा आर्सनलका मार्टिनेलीको गोलले मान्यता पाएन । गोलअघिको फउलको कारण भीएआरको सहायताबाट उनको गोलले मान्यता नपाएको हो । तर, खेलको ३५ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए । डेब्यु खेलमै उनले गोल गरेका हुन् । खेलको ६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए । ६६ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।

यस जितसँगै युनाईटेडले ६ खेलमा १२ अंक जोडेको छ । युनाईटेड पाँचौ स्थानमा रहेको छ । आर्सनल १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आर्सनलको यो सिजनको पहिलो हार हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*