एन्फाको कार्यसमिति बैठक बस्दै

बकैया दर्पण संवाददाता
२६ श्रावण २०७९, बिहीबार १०:२९

मकवानपुर । पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक बिहान १० बजेबाट सुरु हुने एन्फाले जनाएको छ । बैठकमा यसअघि तय भएका एजेण्डासहित थप चार एजेण्डा समावेश भएका छन् । यसअघि बसेको कार्यसमितिको बैठक एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो । बिहीबार बस्न लागेको बैठकमा पुरस्कार राशी सम्बन्धमा, महिला नकआउट प्रतियोगिता सम्बन्धमा, ग्रासरुट्स तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धमा र फिफा डे मा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धमा एजेण्डा थपिएका हुन् ।

यसअघि एन्फा कार्यसमिति बैठकका लागि १८ वटा एजेण्डा तय गरेको थियो । पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो । त्यस अघिको पहिलो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो । एन्फाको निर्वाचन पछि भएको शपथ ग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनामा परेको नयाँ नेतृत्त्वको तेस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*