फिफाका पूर्व अध्यक्ष ब्लाटर निर्दोष ठहर

बकैया दर्पण संवाददाता
२४ असार २०७९, शुक्रबार १५:५७

एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनी एक आर्थिक अपचलनको मुद्दामा निर्दोष ठहर हुनुभएको छ ।

उहाँहरुलाई २ मिलियन स्वीस फ्र्यांक रकम अपचलनको मुद्दा लागेको थियो । सन् २०११ मा अनधिकृत रुपमा ब्लाटरले प्लाटिनीलाई सो रकम दिएको दाबी गरिएको थियो । दुबैले आफुमाथि लागेको आरोपको खण्डन गर्नुभएको थियो ।

प्लाटिनीले त्यतिबेला फिफाको सल्लाहकारका रुपमा गरेको कार्यका लागि ढिला भुक्तानी गरिएका कारण गलत बुझाइ भएको दाबी गरिएको छ ।

शुक्रबार अदालतमा पुग्दै गर्दा ब्लाटरले आफू जीवनमा निर्दोष नभए पनि यो मुद्दामा भने निर्दोष रहेको बताउनुभएको थियो । स्वीटजरल्याण्डको बेलिनजोनास्थित आपराधिक अदालतमा ११ दिन लामो अनुसन्धान जुन २२ मा सकिएको थियो ।

बयानका क्रममा ब्लाटरले सन् १९९८ मा आफूले पहिलोपल्ट विश्व फुटबलको नियामक निकायको नेतृत्व लिएलगत्तै प्लाटिनीलाई सल्लाहकारका लागि प्रस्ताव गरेको बताउनुभएको थियो ।

प्लाटिनीले सन् २००२ पछि फिफाका लागि काम गर्न छाड्नुभएको थियो । तर सन् २०१० सम्म आइपुग्दा उनले फिफालाई भुक्तानीका लागि कुनै दवाव दिनुभएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*