एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १२:५६

मकवानपुर । नेपालले एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
जितको लागि १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालकी सीता रानामगरले ३ बलमा १ चौकासहित सर्वाधिक ४ रन बनाइन् । ओपनर इन्दु बर्मा रोयल डक आउट भइन् । रुविना क्षेत्रीले ८ बल खेल्दा खाता खोल्न सकिनन् । कविता जोशीले १० बलमा ३ रनमा अविजित रहिन् । ८ रन नेपालले अतिरिक्त पायो । बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिईन् ।

यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनायो । बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । यस्तै, कप्तान दिपिका रासंगिका र थरंगाले २/२ रन जोडिन् । नेपालकी अस्मिना कमाचार्यले २ ओभरमा ३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा २ रन खर्चेर २ विकेट लिइन् । सबनम राईले २ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।

नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

नेपाल समूह ‘बी’ मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । नेपाल शीर्ष दुईमा रहँदै समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने पक्का भएको हो । समूह ‘बी’ मा अब हङकङ र कुवेत मध्य एक टोली सेमिफाइनलमा भिड्नेछन् । हङकङले नेपाल र कुवेतसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ‘ए’ मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् ।

फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*