एसीसी महिला टि-२० च्याम्पियनसिपमा नेपालको विजयी

बकैया दर्पण संवाददाता
३ असार २०७९, शुक्रबार १४:५७

मकवानपुर । सार्क प्रतिद्वन्द्वी भुटानलाई ५० रनले हराउँदै मलेसियामा शुक्रबारबाट शुरु भएको एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।

यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन जोड्दा नेपालले ५० रनको जित निकालेको हो ।

मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भुटानका लागि छिरिङ जान्गमोले सर्वाधिक १६ रनकोे पारी खेल्दा एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन योगदान गरिन् । पेमा सोल्डेनले ४ रन जोड्दा पाँच खेलाडीले मात्र समान १ रन जोडेका थिए । भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिईन ।

यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सिता राना मगर र इन्दु वर्माले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयारी पारेको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले २१ रन जोडिन् भने डोली भट्टले ५ रन बनाइन् । सीता मगरले ४, ममता चौधरीले ३, विन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योती पाण्डे शुन्य रनमा आउट भए । कविता कुँवर १ रनमा अविजित रहिन् । बलिङतर्फ भुटानकी सोनम पाल्डोनले ४ तथा अञ्जु गुरुङ र टासी छेकीले १/१ विकेट लिए ।

च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग शनिवार खेल्नेछ । यस्तै नेपालले सोमवार बहराइन र अन्तिम खेलमा मंगलवार हङकङसँग खेल्नेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अन्तर्गत नेपाल समूह बीमा छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ए मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एशिया कप क्रिकेटमा छनोट हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*