इटाली भर्सेस अर्जेन्टिना : कसले मार्ला बाजी ?

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १४:०४

एजेन्सी । कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले बुधबार बहुप्रतिक्षित च्याम्पियन्स कप (फाइनालिसिमा) मा युरोकपको विजेता इटालीसँग खेल्दैछ । सो खेल नेपाली समय अनुसार राति १२:३० बजे ऐतिहासिक वेम्बली स्टेडियममा हुदैछ ।

दुबै टोलीसँग आ-आफ्नो स्तरको प्रभावशाली खेलाडी छन् र आफ्नो क्षमता प्रमाणित गर्ने लक्ष्यमा हुनेछन् ।

इटाली कतार विश्वकप २०२२ का लागि छनोट हुन असफल भएको थियो । आज उसलाई आफु किन युरोपियन च्याम्पियन हो भन्ने प्रमाणित गर्न ठूलो चुनौती छ । अज्जुरीले आफ्नो अघिल्लो खेलमा टर्कीलाई ३-२ ले जितेको थियो । यस खेलमा पनि सोहि लयलाई कायम राख्न खोज्नेछ।

अर्कोतर्फ, अर्जेन्टिनाले लियोनेल स्कालोनीको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । विगत एक वर्षमा अर्जेन्टिना जति बलियो देखिएको छ उसको तुलनामा सायदै अरु कुनै राष्ट्र होलान । अल्बिसेलेस्ट्स आफ्नो पछिल्लो खेलमा इक्वेडरसँग १-१ को बराबरीमा रोकिएको थियो । उसले ‘बाउन्स ब्याक’ गर्न हर सम्भव प्रयास गर्नेछ ।

के युरोपेली च्याम्पियन र कोपा अमेरिका विजेताले आधिकारिक फाइनालिसिमामा पहिले पनि भेटेका छन् ?

यूईएफए र कन्मेबोलद्वारा आयोजित खेलमा यूरो विजेताले आफ्ना दक्षिण अमेरिकी समकक्षीलाई भेटेको यो तेस्रो पटक हुनेछ । सन् १९८५ मा फ्रान्सले पेरिसमा उरुग्वेलाई २ -० ले हराएको थियो । आठ वर्ष पछि अर्जेन्टिनाले घरेलु मैदान मार डेल प्लाटामा डेनमार्कलाई पेनाल्टीमा पराजित गरेको थियो । अर्जेन्टिनाले दोश्रो पटक फाइनालिसिमा खेल्न गईरहेको छ ।

इटालीविरुद्ध अर्जेन्टिना हेड टू हेड:

यी दुई राष्ट्र बिचको इतिहास हेर्ने हो भने इटाली अर्जेन्टिनामाथि थोरै हाबी देखिन्छ । दुई टोलीबीच भएका १६ मध्ये ६ खेलमा इटालीले जित निकालेको छ। अर्जेन्टिनाले इटालीविरुद्ध ५ जित हात पारेको छ भने ४ खेल बराबरीमा सकिएको छ ।

तर, अर्जेन्टिना सन् १९८९ यता इटालीसँग हारेको छैन । एकप्रकारले आधुनिक फुटबलमा इटालीमाथि अर्जेन्टिना हाबी देखिन्छ । पछिल्ला ४ भेटमा लगातार अर्जेन्टिनाले इटालीलाई हराएको छ ।

दुई फुटबलका दिग्गज राष्ट्रहरू बीचको अघिल्लो भेट २०१८ मा भएको थियो र अर्जेन्टिनाले त्यो खेलमा २-० को जित दर्ता गर्न सफल भएको थियो । इटाली त्यो दिन एकदमै कमजोर देखिएको थियो तर विश्वकप गुमाउँदाको पीडा बिर्सिन पनि आज उसले अर्जेन्टिनालाई जित्नैपर्ने दबाब छ ।

इटाली पछिल्ला पाँच खेल : २ जित – १ हार – २ बराबरी

अर्जेन्टिना पछिल्ला पाँच खेल : ३ जित – २ बराबरी

इटालीविरुद्ध अर्जेन्टिना टिम जानकारी :

इटाली:

डोमेनिको बेरार्डी, सिरो इमोबिल, फेडेरिको किएसा र गेटानो क्यास्ट्रोभिली घाइते छन् र यस खेलका लागि उपलब्ध हुनेछैनन् । जर्जियो कीएलिनीलाई टोलीमा समावेश गरिएको छ । उनको अज्जुरीको लागि खेल जीवनको अन्तिम उपस्थिति हुनेछ ।

घाइते: डोमेनिको बेरार्डी, सिरो इमोबिल, फेडेरिको चिएसा, गेटानो कास्ट्रोभिली, राफेल तोलोई

इटाली सम्भावित सुरुआती- ११ (४-३-३) : जियानलुइजी डोनारुम्मा, इमर्सन, जर्जियो कीएलिनी, लियोनार्डो बोनुची, जियोभन्नी डि लोरेन्जो, जर्जिन्हो, मार्को भेराट्टी, निकोलो बरेल्ला, निकोलो जानिलो, लोरेन्जो इन्सिग्ने, जियानलुका स्कामाका

अर्जेन्टिना:

यो खेल अगाडी अर्जेन्टिनाको एक मात्र चोटको चिन्ता भनेको क्रिस्टियन रोमेरोकै रहेको छ । उनले सामान्य चोट बोकेका थिए तर अन्तिम जानकारी के हुन्छ थाहा छैन । अन्य खेलाडी लियोनेल मेस्सी, एन्जल डि मारिया, र लाउटारो मार्टिनेज यो खेलमा लाइनको नेतृत्व गर्न तयार छन् ।

घाइते: कोहि छैन

अर्जेन्टिना सम्भावित सुरुआती-११ (४-३-३): एमिलियानो मार्टिनेज, मार्कोस अकुना, जर्मन पेजेला, निकोलस ओटामेन्डी, नहुएल मोलिना, गुइडो रोड्रिग्वेज, रोड्रिगो डी पाउल, जिओभानि लो सेल्सो, एन्जल डि मारिया, लियोनल मेस्सी, लउटारो मार्टिनेज

इटालीविरुद्ध अर्जेन्टिना नतिजा के हुन सक्छ ?

अर्जेन्टिना हाल ३१ म्याचको अपराजित यात्रामा छ । पछिल्लो समय आश्चर्यजनक रूपमा लगातार उच्च लयमा रहेको छ । लियोनेल मेस्सी र लउटारो मार्टिनेज जस्ता खेलाडी फर्ममा हुँदा एक्लै खेल जिताउने सामर्थ्य राख्छन । उनिहरु दोश्रो पटक यो ट्रफी जित्ने यो महत्वपुर्ण अवसरको सदुपयोग गर्न चाहन्छन् ।

इटालीको कहानी फरक छ । युरोकप जित्ने बेलासम्म यो टोलि पनि अपराजित थियो । अहिले जुन लयमा अर्जेन्टिना छ त्यही लय इटालीको रहेको थियो । तर विश्वकपमा कसरि छनोट हुन सकेन त्यसले सबैलाई अचम्मित पारेको छ । यदि इटालीको दिन छ भने उसले एक झट्कामै अर्जेन्टिनालाई प्याक गर्न सक्छ । इटालीलाई यहि अप्रत्यासित नतिजाको लागि चिनिन्छ । त्यसमाथि विश्वकपको लागि छनोट हुन नसकेको पीडामा जलिरहेको छ । यद्दपी अर्जेन्टिना अहिलेको उत्कृष्ट टोली हो त्यसैले अलिकति सम्भावना उसकै बलियो रहनेछ ।

अन्तिम नतिजा: इटाली १-२ अर्जेन्टिना (खेलपाटी अनुमान)
खेलपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*