राष्ट्रिय फुटबल टोली कतार जाँदै

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०७९, बुधबार १०:२३

मकवानपुर । एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार प्रस्थान गर्दैछन् ।

कुवेतमा आयोजना हुने छनोट अघि तयारीका लागि नेपाली टोली कतार जान लागेका हुन् । नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले नेपाली टोली साँझ ६ बजे कतार प्रस्थान गर्ने बताए ।

नेपाली टोलीले कतारमा करिब ९ दिन तयारी गर्ने टिम व्यवस्थापक उपाध्यायले जानकारी दिए । नेपाली टोली जुन ४ मा कुवेत जाने छन् ।

नेपाली टोलीलाई मंगलबार साँझ अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई बिदाइ गरे ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले छनोटका लागि कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् ।

मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ ।

छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।

नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

नेपाली टोली :

गोलकिपर : दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्डर : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*