उपकप्तान नियुक्तिमार्फत क्यानका दुई सन्देश

बकैया दर्पण संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार १२:५३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा रोहित पौडेललाई नियुक्त गर्यो । बायाँ हाते युवा ब्याट्सम्यान पौडेललाई उपकप्तान नियुक्त गर्ने क्यानको निर्णयलाई धेरैलाई आश्चार्यमा पारेको छ ।

राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा यसअघि दिपेन्द्रसिंह ऐरी थिए । तत्कालिन समयमा कप्तान ज्ञानेन्द्र मल्ल थिए । केन्द्रिय सम्झौतामा खेलाडीको वर्गिकरण बैज्ञानिक र न्यायोचित नभएको भन्दै कप्तान ज्ञानेन्द्र सहित केही सिनियर खेलाडीले प्रश्न उठाएका थिए । त्यो लाईनमा थिए, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी लगायतका सिनियर खेलाडी । त्यसपछि क्यान र खेलाडीबीचको विवाद उत्कर्षमा समेत पुग्यो । कप्तान, उपकप्तान सहित सिनियर खेलाडीलाई क्यानले जिम्मेवारी हटाउनेदेखि केन्द्रिय सम्झौता रद्ध गर्ने सम्मको कारबाही गर्यो ।

क्यानको निर्णयविरुद्ध खेलाडी प्रशिक्षणमै नजानेसम्मको निर्णय गरे । क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनायो । अन्तिममा घटनाको ‘सेफ ल्याण्डिङ’को रुपमा खेलाडीमाथिको कारबाही फुकुवा गरियो र खेलाडी वर्गिकरणको निर्णय पुनर्विचार गरियो । कप्तानको रुपमा सन्दिपनै रहने भए ।

हेर्दा सबैचिज ठिक–ठाक जस्तो देखिन्थ्यो ।

तर उपकप्तान नियुक्तिमा सिनियर खेलाडीमाथि क्यानको कुण्ठा प्रकट भएको छ । प्रर्दशन र क्षमताका हिसाबले अब्बल खेलाडीलाई बाहिर राख्दै क्यानले उपकप्तानमा नियुक्तको निर्णय गरेको छ । रोहित सम्भावना बोकेका खेलाडी हुन् । उनी नेपाली क्रिकेटका भविष्य हुन्, यसमा कुनै शंका छैन । तर उपकप्तान नियुक्तिमा क्यानले सिनियर खेलाडीमाथि प्रतिशोध साधेको प्रस्ट देखिन्छ । उपकप्तान नियुक्तिमार्फत क्यानले प्रस्ट रुपमा दुई सन्देश दिएको छ ।

पहिलो सन्देश क्यान कमजोर पात्रको खोजीमा देखिन्छ । हेर्दा हेर्दै नेपाली क्रिकेट र खेलाडीले अन्तराष्ट्रिय स्तरमा पुगे तर यहाँका ब्यवस्थापक र पदाधिकारी ‘झोले’ प्रवृति भन्दा माथि उठ्न सकेनन् । खेलाडीका अघि उभिएर प्रस्टसँग कुरा गर्ने हैसियत कुनै पदाधिकारीले बनाउन सकेनन् । त्यो क्रम अझै जारी छ । खेलाडी वर्गिकरणमा क्यानका केही ‘झोले’ पदाधिकारीले प्राविधिक गल्तीनै गरेका थिए । पछि सच्चाए । तर आफ्नो गल्तीको प्रतिशोध खेलाडीसँग साँधिरहे ।

खेलाडीबीचको एकतामा राजनीति घुसाएर नयाँ कप्तान नियुक्त गरे । नयाँ कप्तानको वास्तविक परिक्षण हुनै बाँकी छ तर उपकप्तानमा समेत तुलनात्मक रुपमा कमजोर पात्रको छनोट गरिएको छ । ब्याट र बलमार्फत क्यानलाई राम्रो जवाफ दिईरहेका दिपेन्द्र सिंह ऐरीदेखि सोमपाल कामी, करण केसी तुलनात्मक रुपमा उपकप्तानका लायक खेलाडी थिए । उप कप्तान नियुक्तिले क्यानलाई निर्धक्कसँग तर्कपूर्ण भनाई राख्ने ‘लिडर’ मन नपर्ने प्रस्ट देखाएको छ । सक्षम खेलाडीलाई जिम्मेवारीबाट बाहिर राखेर आफ्नो रोजीरोटी जोगाउनमै क्यानका केही पदाधिकारीले आफ्नो भलो देखेका छन् । सायद क्यानका केही पदाधिकारी अर्को पारस खड्का जन्मिएको हेर्न चाहदैन । क्रिकेट जहाँ पुगोस, तर क्यान सधै पारस खड्काको छायाँसँग डराईरहने प्रस्ट भयो ।

उपकप्तान नियुक्तिको अर्को सन्देश खेलाडीमाथि क्यानको प्रतिशोध अझै बाँकीनै रहेको देखाउँछ । नयाँ कप्तान नियुक्तिसँगै खेलाडी र क्यानबीच देखिएको संघर्ष अन्त्य हुने ठानिएको थियो । तर उपकप्तान नियुक्तिले क्यान अझै खेलाडीमाथि प्रतिशोध साध्न उद्धत रहेको देखाउँछ । कमजोर पात्रलाई अघि सारेर नेपाली क्रिकेटमा रजगज गर्न उद्धत केही ‘झोले’ पदाधिकारीको पछिल्ला निर्णयले अन्तराष्ट्रिय क्रिकेटमा नेपालको प्रर्दशन र नतिजामा पक्कै असर गर्नेनैछ । अभिभावक संस्थाका प्रतिशोधपूर्ण कुन्ठाले भरिएका निर्णयले नेपाली क्रिकेटको भलो गर्दैन । (खेलपाटीबाट साभार)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*