सातौँ बकैया कपको उद्घाटन खेलमा वडा नं–३ को शानदार जित, वडा नं–८ बाहिरियो
बकैया,मकवानपुर । सातौँ बकैया कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बकैया गाउँपालिका वडा नं–३ (निलो जर्सी) ले बकैया वडा नं–८ (सेतो जर्सी) लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । यस हारसँगै वडा नं–८ को यस वर्षको बकैया कप यात्रा टुंगिएको छ।
आज सम्पन्न उद्घाटन खेलको निर्धारित समयको पहिलो हाफमा वडा नं–३ का आयुस नेगीले शानदार गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । पहिलो हाफ सोही स्कोरमा समाप्त भएको थियो। दोस्रो हाफमा तारा नेगीले थप एक गोल गर्दै वडा नं–३ को जित सुनिश्चित गरे ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं–३ का आर्यन नेगी ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद रु. २,००० पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलि हुने खेल तालिका अनुसार बिहान ७ बजे महिला तर्फ वडा नं–४ र वडा नं–३ बीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, पुरुष तर्फ दिउँसो १ बजे वडा नं–१० र वडा नं–२ तथा दिउँसो ३ बजे वडा नं–६ र वडा नं–९ बीच खेल हुने आयोजकले जनाएको छ।
सातौँ बकैया कप फुटबल प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुदमार्फत आपसी सद्भाव र उत्साह बढाउने अपेक्षा गरिएको छ।
