खानीखोला गाउँपालिकामा कफि खेती विस्तार, दोस्रो वर्षको कार्यक्रमका लागि सम्झौता सम्पन्न
काभ्रे,खानिखोला – खानीखोला गाउँपालिका अन्तर्गत सञ्चालन भइरहेको समुदायमा आधारित “एक वडा एक कृषि उत्पादन” कार्यक्रम अन्तर्गत कफि बाली प्रवर्द्धन कार्यक्रमका लागि वडा नम्बर २ मा दोस्रो वर्षको कार्यक्रम कार्यान्वयन गर्न सम्झौता सम्पन्न गरिएको छ।

सम्झौता सम्पन्न हुनु अघि पहिलो वर्षको कार्यक्रमको अनुगमन तथा पृष्ठपोषण (फिडब्याक) कार्यक्रम समेत सम्पन्न गरिएको थियो। उक्त अनुगमनका क्रममा कफि खेतीको अवस्था, कृषकको सहभागिता र आगामी योजना सम्बन्धी छलफल गरिएको थियो।

सम्झौता हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ, उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जिवन राज अर्याल तथा स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाले “गाउँमै कमाउने, गाउँमै रमाउने” भन्ने नारालाई आत्मसात गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कफि बालीलाई प्राथमिकतामा राखी यसको क्षेत्र विस्तार गर्दै लगिरहेको जनाएको छ।
यस कार्यक्रममार्फत कफि उत्पादन वृद्धि, कृषकको आयआर्जनमा सुधार तथा स्थानीय कृषि अर्थतन्त्र मजबुत बनाउने अपेक्षा गरिएको गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिनुभएको हो ।
