क्वाईनोनिया चर्चद्वारा बकैया वडा नं. ७ लाई ५ थान फुटबल सहयोग हस्तान्तरण
मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं. ७ खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८२ का लागि क्वाईनोनिया चर्चले ५ थान फुटबल सहयोग स्वरूप हस्तान्तरण गरेको छ।
वडा नं. ७ मा आयोजित एक कार्यक्रमका बीच उक्त फुटबलहरू क्वाईनोनिया चर्चका पस्टर राजेन्द्र घिमिरेले वडा नं. ७ खेलकुद विकास समितिलाई हस्तान्तरण गरेका हुन्। प्रतियोगिताको तयारीका क्रममा प्राप्त भएको यो सहयोगले स्थानीय खेलकुद विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।
फुटबल हस्तान्तरणपछि बोल्दै वडा नं. ७ खेलकुद विकास समितिका संयोजक असोक लोप्चनले क्वाईनोनिया चर्चप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको सहयोगले युवालाई खेलकुदप्रति आकर्षित गर्न मद्दत पुग्ने बताए। उनले आगामी दिनमा पनि विभिन्न संघ–संस्थाबाट यस्तै सहयोग र सहकार्यको अपेक्षा गरिएको उल्लेख गरे।
वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८२ मार्फत स्थानीय प्रतिभाको पहिचान, आपसी सद्भाव तथा खेलकुद संस्कृतिको विकासमा टेवा पुग्ने आयोजक समितिको विश्वास रहेको छ।
