माटोकोरी आधारभूत विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी तथा विविध खेलकुद प्रतियोगिता सम्पन्न
मकवानपुर, बकैया – माटोकोरी आधारभूत विद्यालय बकैया–०७ हर्दा, मकवानपुरको आयोजनामा शैक्षिक सामग्री प्रदर्शनी तथा विविध खेलकुद प्रतियोगिता २०८२ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सभाअध्यक्षता विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्ष श्री पवन सिङ गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बकैया गाउँपालिका अध्यक्ष श्री धर्मराज लामिछानेको उपस्थिती रहेको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा बकैया गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री मानबहादुर सिंतान, इस्थर बेन्जामिन मेमोरियल फाउन्डेसनका कार्यक्रम संयोजक आदरणीय बुद्धवीर लामा, PTA अध्यक्ष, ८ वटा सामुदायिक विद्यालयका वि.व्य.स. अध्यक्षज्यूहरू, ८ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरू तथा वडा नं. ७ भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले तयार पारेका शैक्षिक सामग्रीहरूको प्रदर्शनी गरिएको थियो, जसले विद्यार्थीहरूको सिर्जनशीलता, प्रयोगात्मक सिकाइ र प्रस्तुति क्षमताको उत्कृष्ट झल्को दिएको सहभागीहरूले बताएका छन्। साथै, विविध खेलकुद प्रतियोगितामा वडा भित्रका सबै विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा विद्यालय–समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
