बकैया गाउँपालिकामा एचपिभी खोप अभियान सम्पन्न, ३४२ किशोरीलाई खोप
बकैया,मकवानपुर – बकैया गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित एचपिभी (HPV) खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ। माघ २५ गतेदेखि सुरु गरिएको यो अभियान आज मिति २०८२/१०/२९ गते सम्पन्न गरिएको हो।

अभियान अन्तर्गत बकैया गाउँपालिकाका २२ वटा विद्यालय र १२ वटा स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिएको थियो। खोप कार्यक्रममार्फत गत आर्थिक वर्षमा छुटेका तथा हाल कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरिएको थियो।

बकैया स्वास्थ्य प्रमुख रमेश फुयलका अनुसार, यस आर्थिक वर्षमा कक्षा ६ मा अध्ययनरत ३१९ जना, गत आर्थिक वर्षमा छुटेका कक्षा ७ देखि १० मा अध्ययनरत २१ जना, साथै विद्यालय बाहिर रहेका र गत आर्थिक वर्षमा छुटेका हाल ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरू गरी जम्मा ३४२ जना किशोरीलाई एचपिभी खोप लगाइएको छ।

खोप अभियानले लक्षित समूहमा स्वास्थ्य सचेतना बढाउनुका साथै पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। बकैया गाउँपालिकाले आगामी दिनमा पनि यस्ता जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
