आगो सल्किँदा हेटौंडामा गोठ जलेर नष्ट, १० बाख्रा मरे
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेमा आगलागी हुँदा एक गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।मिति २०८१ साल चैत १९ गते साँझ करिब १९:१५ बजे स्थानीय सानुकाजी स्याङवोको काठ र जस्ताले बनेको गोठमा आगलागी भएको हो।
आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षक गौरिशंकर साहको कमाण्डमा टोली खटिएको थियो।दमकल र स्थानीयवासीको सक्रियतामा आगो करिब १९:४० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीका कारण गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने १० वटा बाख्रा जलेर मरेका छन्। साथै १ वटा गाईको बाच्छी जलेर घाइते भएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मुसा धपाउनका लागि गोठको छेउमा बालेको आगो सल्किँदा उक्त आगलागी भएको खुलेको छ।
उक्त घटनाबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।
