मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजलाई

बकैया दर्पण संवाददाता
१९ भाद्र २०८०, मंगलवार ११:१६

मकवानपुर । मकवानपुरमा सञ्चालन भएको मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित) लाई ७–२ गोल अन्तरले पराजित गर्दै सौराहले उपाधि हात पारेको हो ।

सौराह जेसीसले उपाधिसँगै नगद रुपैयाँ पनि प्राप्त गरे । यस्तै, उपविजेता भएको आयोजक शाखाले भने ५० हजार रुपैयाँमै चित्त बुझाएका छन् ।

सौराहको तर्फबाट असिम भट्टराईले ४ र शिखर लम्सालले ३ गोल गरेका हुन् भने आयोजकको तर्फबाट विवश थिङले २ गोल गरेका थिए ।

सौराहले पालुङ जेसीजलाई र मकवानपुरगढीले वीरगञ्जलाई हराउँदै उपाधिको लागि प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार सूर्योदय जेसीजले प्राप्त गर्दा विधागत उत्कृष्टको पुरस्कार विजेता सौराहका खेलाडीले प्राप्त गरे ।

उत्कृष्ट खेलाडी अ सिम भट्टराई, उत्कृष्ट गोलरक्षक सौगात रिजाल र सर्वाधिक गोलकर्ता शिखर लम्साल घोषित भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगिताको विजेता तथा सर्वोत्कृष्ट खेलाडीहरूलाई मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीन, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो क्रममा गाउँपालिका अध्यक्ष स्याङ्तानले यस प्रतियोगिताले गाउँपालिकाको आन्तरिक पर्यटन प्रवद्र्धनसहित खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै आगामी वर्षहरूमा पनि निरन्तरता दिन आग्रह गरे ।

मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले जेसीज शाखाहरूको बिचमा भ्रातृत्वको सम्बन्ध स्थापनासँगै खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धनका निम्ति प्रतियोगिता आयोजना गरिएको बताए ।

यस्तै, कार्यक्रम संयोजक विजय पुडासैनीले प्रतियोगितालाई सम्पन्न गर्नको लागि विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनका पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*