एमबाप्पेको करिअरमा विश्व कीर्तिमानी प्रस्तावदेखि बेन्चमै थन्क्याउनेसम्मको उथलपुथल

बकैया दर्पण संवाददाता
९ श्रावण २०८०, मंगलवार १२:३२

मकवानपुर । साउदी क्लब अल हिलाल विश्वकै स्टारमध्येका एक फरवार्ड केलियन एमबाप्पे भित्र्याउने दाउमा लागिपरेको छ । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध रहेका एमबाप्पेलाई भित्र्याउनका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउन्डको मेगा प्रस्ताव गरेको हो ।

अल हिलालको प्रस्ताव पीएसजीले स्वीकार गर्दै यस विषयमा थप कुराकानी गर्न एमबाप्पेका एजेन्टलाई स्वीकृत समेत दिइसकेको छ ।

फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका २४ वर्षीय एमबाप्पेको पीएसजीमा अझै एक वर्ष सम्झौता बाँकी नै छ । उनले एक वर्षपछि पीएसजीमा आफ्नो सम्झौता नलम्ब्याउने बताइसकेका छन् । जसकारण अहिले नै एमबाप्पेलाई बेचेर महँगो रकम लिने दाउमा पीएसजी लागेको छ ।

सम्झौता नलम्ब्याउने बताएका एमबाप्पेलाई पीएसजीले प्रि(सिजनको टोली घोषणा गर्दा बाहिरै रोखेको थियो । त्यसपछि एमबाप्पे र पीएसजीको दूरी झनै बढेको छ । एक वर्षपछि सम्झौता सकिने भएकाले त्यतिबेला सित्तैमा स्टार खेलाडी एमबाप्पेलाई छाड्नुपर्ने भएकाले पीएसजी अहिले नै कुनै पनि हालतमा एमबाप्पेलाई बेच्ने रणनीतिमा छ ।

इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, सिरी ए क्लब इन्टर मिलान, ला–लिगा क्लब बार्सिलोना सबै अहिले एमबाप्पे भित्र्याउने रणनीतिमा लागेका छन् । तर एमबाप्पेले यसअघि अर्को सिजनको अन्त्यमा पीएसजी छाड्ने र रियल मिड्रिड जाने इच्छा व्यक्त गरेका थिए ।

यदि अहिले महँगो रकम लिएर एमबाप्पेलाई बेच्न नसकेको अवस्थामा महँगो रकम लिएर एक वर्षका लागि लोनमा भए पनि पठाउने रणनीतिमा पीएसजी छ । एक वर्षे लोनका लागि एमबाप्पेलाई पीएसजीले रियल मड्रिडमा समेत पठाउने सक्ने बीबीसीले उल्लेख गरेको छ ।

पीएसजीका अध्यक्ष नासेर अल(खेलाफी वर्तमान गतिरोधलाई एमबाप्पेले अन्त्य गर्न नचाहे पूरै सिजन बेन्चमा थन्क्याउनेसम्मको चेतावनी समेत दिएका छन् । खेलाफीको उक्त धारणाले एमबाप्पेलाई मात्रै नभई गर्दा फ्रान्स राष्ट्रिय टिमलाई समेत ठूलो घाटा पर्न सक्छ । आफ्ना मुख्य खेलाडीले पूरा सिजन बेन्चमा बिताए पनि उनकै कप्तानीमा फ्रान्सले युरो २०२४ खेल्नुपर्नेछ ।

अल हिलाल साउदी अरेबियाको सार्वजनिक लगानी कोषको स्वामित्वमा रहेको क्लब हो । हिलालले यो सिजन चेल्सी र वुल्भ्सबाट क्रमशः रुबेन नेभ्स र कालिडो कौलिबालीलाई अनुबन्धन गरिसकेको छ ।

यसअघि जापान टुरबाट एमबाप्पेलाई बाहिर राखेपछि फ्रान्सेली फुटबल युनियनले एमबाप्पेमाथि ‘नैतिक उत्पीडन’ गरिएको आरोप समेत लगाएको थियो ।

पीएसजीका सबै समयका प्रमुख गोलकर्ता एमबाप्पेले आफू सम्झौता नलम्ब्याउने बताइसकेका छन्। जसकारण एक वर्षपछि आउँदो जुन १२ मा पीएसजीसँग एमबाप्पेको सम्झौता सकिँदैछ । त्यसपछि उनी फ्रि ट्रान्सफरमा अन्य क्लब जान्छन् ।

सम्झौताको अन्त्यसम्म पीएसजीमै रहने र त्यसपछि मात्रै ‘फ्रि’मा क्लब छाड्ने योजनामा छन्। क्लब अहिले नै बेचेर पैसा लिने दाउमा छ । यही दोहोरो स्वार्थका कारण अहिले क्लब र एमबाप्पेबीच सम्बन्ध राम्रो छैन । त्यसैको परिणाम उनलाई एसिया टुरमा क्लबले नराखेको हुनसक्ने बताइएको छ ।

सन् २०१७ मा १६५.७ मिलियन पाउन्डमा मोनाकोबाट पीएसजीले एमबाप्पेलाई अनुबन्धन गरेको थियो ।

एम्बाप्पेलाई जापान र दक्षिण कोरिया जाने टोलीबाट बाहिर राखेपछि व्यावसायिक फुटबलरहरूको राष्ट्रिय संघ (यूएनएफपी) ले विज्ञप्ति निकालेर भनेको छ, ‘यी खेलाडीले बाँकी समय आनन्दसँग खेल्न पाउनुपर्छ ।’

यस्तो व्यवहार गर्ने कुनै पनि क्लब विरुद्ध नागरिक र फौजदारी कारबाही गर्ने अधिकार यूएनएफपीसँग रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमबाप्पे विगत ६ वर्षदेखि पीएसजीको मुख्य खेलाडीको रुपमा रहँदै आएका छन् । यो समयमा उनले २६० खेल खेल्दै २१२ गोल गरेका छन् । पाँच लिग वान र गोल्डेन बुट समेत एमबाप्पेले जितेका छन् ।

उनले फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताए भने २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए । २०२२ मा आफ्नो अन्तिम सम्झौताको अन्त्यमा उनी रियल म्याड्रिडमा निस्शुल्क सामेल हुने अपेक्षा गरिएको थियो, तर पीएसजीमा दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेर सबैलाई चकित पारे ।

तर, उनले सम्झौता अब विस्तार नगर्ने निर्णय गरेका छन् । क्लबका अध्यक्ष नासेर अल(खेलाफीले एमबाप्पेलाई सन् २०२४ मा सित्तैमा जान दिने ‘असम्भव’ भएको बताएका छन् ।

एमबाप्पेको करिअर उथलपुथलमा ल्याउने केही मुख्य घटनाको टाइमलाइन
मे २०२२ः रियल मड्रिडमा जान अस्वीकार । पीएसजसँगै थप २ वर्षको सम्झौता ।
डिसेम्बर २०२२ः विश्वकपको फाइनलमा ह्याट्रिक । तर पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी ।
मार्च २०२३ः गोलरक्षक ह्युगो लोरिसलाई रिप्लेस गर्दै फ्रान्सको कप्तानको जिम्मेवारी ।
अप्रिल २०२३ः छैटौं पटक लिग वान विजेता । पीएसजीको जर्सीमा पाँचौं ।
१३ जुन २०२३ः सामाजिक सञ्जालमा ट्वीट गर्दै पीएसजीमै बस्न चाहेको जानकारी । तर २०२४ पछि सम्झौता नवीकरण नगर्ने घोषणा।
५ जुलाई २०२३ः पीएसजी अध्यक्ष नासेरद्वारा एमबाप्पेसँग वार्ता । पीएसजीमै रहने भए सम्झौता नवीकरण गर ।
९ जुलाई २०२३ः फ्रान्स फुटबल म्यागजिनमा टिप्पणी दिँदै पीएसजी ‘विभाजनकारी’ क्लब रहेको धारणा व्यक्त ।
२१ जुलाई २०२३ः जापान र दक्षिण कोरियाको प्रि–सजन टुरबाट आउट ।
२२ जुलाई २०२३ः एमबाप्पेलाई प्रि–सिजन टुरमा नराख्नु उनीमाथिको ‘नैतिक उत्पीडन’ भएको फ्रेन्च फुटबलर युनियनको धारणा ।
२४ जुलाई २०२३ः साउदी क्लब अल हिलालद्वारा विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउण्डको अफर । (नेपाल लाइभ)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*