गुजरातलाई १५ रनले हराउँदै चेन्नई आईपीएल क्रिकेटको फाइनलमा

बकैया दर्पण संवाददाता
१० जेष्ठ २०८०, बुधबार १०:११

मकवानपुर ।  चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। गएराति भएको पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो ।  चेन्नई चार पटकको च्याम्पियन टोली हो । चेन्नईमा जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ४२ रन बनाए । राशिद खानले ३० रन जोडे । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका रविन्द्र जडेजा, दीपक चाहर, महेश थिक्सेना, मथिशा पाथिरानाले समान २/२ विकेट लिए भने तुषार देशपान्डेले १ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । चेन्नईका ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । त्यस्तै डेभन कन्वेले ४० रन जोडे । कप्तान महेन्द्रसिंह धोनी १ रनमा आउट भएका थिए ।

गुजरातका मोहित शर्मा र मोहम्मद शामीले समान २/२ विकेट लिए । त्यस्तै नुर अहमद, राशिद खान र दर्शन नालकंडेले समान १/१ विकेट लिए । पराजित गुजरातले फाइनल प्रवेशका लागि आज हुने मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीचको एलिमिनेटर खेलको विजेतासँग शुक्रवार खेल्नेछ । शुक्रवार दोस्रो क्वालिफायर हुनेछ । आईपीएलको फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*