कोलकत्तालाई हराउँदै चेन्नई शीर्षस्थानमा

बकैया दर्पण संवाददाता
११ बैशाख २०८०, सोमबार ०८:३८

मकवानपुर ।  इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा चेन्नइ सुपर किंग्स उक्लिएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली कोलकत्ता नाइटराइडर्सलाई ४९ रनले हराउँदै चेन्नइ शीर्षस्थानमा उक्लिएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ता ८ विकेट गुमाएर १८६ रनमा समेटियो।

पहिलो विकेटका लागि डेभोन कोन्वेसँग ७३ रनको साझेदारी बनाएका रुतुराज गाइक्वड ३५ रन बनाएर आउट भए। दोस्रो विकेटका रुपमा डेभोन कोन्वे ५६ रन बनाएर आउट भए। त्यस्तै शिवम दुवेले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ५० रन बनाउँदा रवीन्द्र जडेजा ८ बलमा १८ रन बनाउँदै आउट भए। चेन्नइका लागि सर्वाधिक ७१ रन बनाएउँदै अविजित रहेका अजिन्क्य रहाणेले २९ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै महेन्द्रसिंह धोनी २ रनमा अविजित रहे।

बलिङतर्फ कोलकत्ताका कुलवन्त खेज्रोलियाले सर्वाधिक २ विकेट लिँदा वरुण चक्रवर्ती र सुयश शर्माले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताका लागि जेसन रोयले आक्रमक ब्याटिङ गर्दै २६ बलमा ५ चौका र ५ छक्काको सहायतामा सर्वाधिक ६१ रन बनाउँदा रिंकु सिंहले अविजित ५३ रन बनाए। त्यस्तै कप्तान नितिश रानाले २७ तथा वेङटेस ऐयरले २० रन बनाए।

जितसँगै ८ खेलबाट १० अंक जोडेको चेन्नइ तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा ७ खेलबाट ८ अंक जोडेको राजस्थान रोयल्स छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*