लिजेन्ड्स लिग क्रिकेटको उपाधि पारस आबद्ध टोली एसिया लायन्सलाई, वर्ल्ड जायन्ट्स ७ विकेटले पराजित

बकैया दर्पण संवाददाता
७ चैत्र २०७९, मंगलवार ०९:१२

मकवानपुर ।  लिजेन्ड्स क्रिकेट लिगको उपाधि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध टोली एसिया लायन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा एसियाले वर्ल्ड जायन्ट्सलाई सात विकेटले हरायो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ५८ रन बनाए । त्यस्तै उपुल थरङ्गा ५७ रनमा आउट भए । जायन्ट्सका ब्रेट ली, स्मित पटेल र मोन्टी पनेसारले एक/एक विकेट लिए । त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।

उसका अलराउन्डर ज्याक्स कालिस ७६ रनमा अविजित रहे । एसियाका अब्दुर रजाकले २ विकेट तथा थिसेरा परेराले एक विकेट लिए । फाइनल खेलमा नेपालका पारस खड्काले ब्याटिङ र बलिङको अवसर पाएनन् । लिगमा एसिया लायन्स, वर्ल्ड जायन्ट्स र इन्डिया महाराज गरी तीन टोली रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*