शहीद स्मारक ए डिभिजन लिगको पहिलो खेलमै मछिन्द्र पराजित

बकैया दर्पण संवाददाता
२१ फाल्गुन २०७९, आईतवार २०:०८

मकवानपुर । साविक विजेता मछिन्द्र एफसी शहीद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो खेलमै पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा एक गोलको अग्रता लिएर पनि कायम राख्न नसक्दा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भयो ।

जावलाखेललाई पुनरागमन जित दिलाउन हिसुब थपलियाले एक गोल र एक असिस्ट गरे । कप्तान सिमान्त थापा र मासोबीले एक एक गोल गरे । खेलको २४औं मिनेटमा देवेन्द्र तामाङले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई पहिले अग्रता दिलाएका थिए । लिग अघि लगातार गोल्डकप खेलेर थकित मछिन्द्रले जावलाखेल विरुद्ध अग्रता कायम राख्न सकेन ।

उता जावलाखेलले भने दोस्रो हाफमा शानदार पुनरागमन गर्दै तीन गोल गर्‍यो । ५९औं मिनेट हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई खेलमा फर्काएका थिए । त्यसपछि जावलेखेलले खेलमा पकड बनायो ।
६४औं मिनेटमा एनकोतो मासोबीले गोल गर्दै जावलाखेललाई २-१ को अग्रता दिलाए ।

जावलाखेल यतिमै रोकिएन । ७६औं मिनेटमा कप्तान सिमान्त थापाले हिसुबको फ्रिकिकमा हेडर गोल गर्दै ३-१ को अग्रता दिलाए । जितपछि जावलाखेलले ३ अंक जोड्दै लिगमा शानदार सुरुवात गरेको छ । मछिन्द्रले भने हारबाट लिग यात्रा सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*