क्रिकेट विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग खेल्दै

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०७९, सोमबार ०९:३९

मकवानपुर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्यु गिनी (पीएनजी) सम्मिलित शृङ्खला आजदेखि यूएईमा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेलमा नेपालले आज पीएनजीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई पुगेको छ । त्यही लय कायम राख्दै सुखद नतिजा ल्याउने विश्वकपमा नेपाली टिम छ ।

नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृङ्खला भएको थियो । यो शृङ्खलामा पीएनजीको मैदानमा हुनुपर्ने भए पनि प्राविधिक कारणले यूएईमै खेलाउन लागिएको हो ।

गत वर्ष भएको लिग टु शृङ्खलामा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लगत्तै नेपालमा भएको नेपाल र पीएनजीबीचको दुई खेको शृङ्खला भने पीएनजीले जितेको थियो । घरेलु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो । पहिलो खेलमा २९३ रनको लक्ष्य पछ्याउने क्रममा ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा २७८ रन बनाउँदै ३ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा रोहित पौडेलले १२६ रन बनाए पनि नेपालले लक्ष्य भेट्टाउन सकेन । यस्तै दोस्रो खेलमा दीपेन्द्र सिंह ऐरिले १०५ रन बनाएका थिए । नेपाल र पीएनजीबीच २०२१ सेप्टेम्बरमा ओमानमा पहिलो पटक दुई पक्षीय ओडिआई शृङ्खला भएको थियो । जसमा नेपालले दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेटले र दोस्रो खेलमा १५१ रनले हराएको थियो । लिग टु मा तीनवटै टिम आफ्नो आठौं शृङ्खला खेल्दैछन् । यसपछि नवौँ तथा लिग टुको अन्तिम शृङ्खला नेपालमा लगत्तै हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*