म्यानचेष्टर युनाइटेडले जित्यो लिग कप, ६ वर्षपछिको पहिलो उपाधि

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०७९, सोमबार ०९:१२

एजेन्सी । म्यानचेष्टर युनाइटेडले न्युकासललाई पराजित गर्दै इंग्लिस लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । आइतबार राति वेम्ली मैदानमा भएको फाइनलमा युनाइटेडले न्युकासललाई २–० ले हरायो । युनाइटेडका लागि कासेमिरोले ३४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मार्कुस रासफोर्डले ४२औं मिनेटमा दोस्रो गोल गरे ।

युनाइटेडले यो उपाधि जितेसँगै ६ वर्षको उपाधि खडेरी समेत अन्त्य गरेको छ । डच प्रशिक्षक एरिक टेन हाको आगमनपछि युनाइटेडले यस सिजन २०१७ यता पहिलो उपाधि जितेको हो । युनाइटेडले पछिल्लो पटक सन् २०१६–१७ को सिजन जोस माउरिन्होको प्रशिक्षणमा युरोपा लिग जितेको थियो । यस्तै त्यही वर्ष लिग कपको पनि उपाधि जितेको थियो । लिभरपुलले सर्वाधिक ९ र म्यानचेष्टर सिटीले ८ पटक लिग कप जितेका छन् ।

सन् २०१३ मा पछिल्लो पटक प्रिमियर लिग जितेको युनाइटेडले एक दशक यता लिग जित्न सकेको छैन । जारी सिजन लिगमा तेस्रो स्थानमा रहेको युनाइटेड युरोपा लिगको अन्तिम १६ मा पुगेको छ । यस्तै एफए कपमा पाँचौं चरणमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*