क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको आज अन्तिम सुनुवाई

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०७९, आईतवार ११:४२

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर प्रक्रिया अघि बढाउने अथवा धरौटीमा रिहा गर्नेबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । मुद्दा न्यायाधीश कुमार चुडाल र सपना मल्लको संयुक्त इजलासमा एक नम्बरमा छ ।

सन्दीपले लिग टु अन्तगर्तको सिरिज खेल्न युएई जान पाउँ भनी दिएको निवेदनमा अदालतले अन्तरिम आदेश दिएको थिएन। सो मुद्दा पनिसँगै राखेर अदालतले सुनुवाइ गर्न लागेको हो । पाटन उच्च अदालतले पुस २८ गते धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्धको रिटसहित आज दुवै रिटको एकै ठाउँमा सुनुवाइ हुनेछ । उच्च अदालतको आदेश त्रुटिपूर्ण भएकोले पुर्पक्ष थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले दुवै निवेदन एकसाथ राखेर आइतबार पेस गर्न आदेश दिएका थिए । सन्दीपमाथि नाबालिग जबरजस्ती करणीको आरोप लागेको छ । उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनीमाथि लगाएको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा समावेश गरेको थियो । निलम्बन फुकुवापछि राष्ट्रिय टिममा पुनरागमन गरेका उनले लिग टु अन्तर्गत घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शन गरेका थिए । चार खेलको उक्त सिरिजमा उनले १३ विकेट लिएका थिए ।

विश्व क्रिकेट लिग टु अन्तर्गत सोमबारदेखि युएई सिरिज सुरु हुँदैछ। नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । घरेलु मैदानमा प्रदर्शन गरेको लयलाई कायमै राख्न नेपाललाई चुनौती हुनेछ । सन्दीपको उपस्थिति बिना मैदान उत्रिदा नेपाल बलरमाथि दबाब पर्नेछ । उनको स्थानमा नयाँ खेलाडीले अवसर पाउने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*