मैत्रीपूर्ण खेलमा नेपालको महिला फुटबल टोलीले भारतसँग बराबरी खेल्यो

बकैया दर्पण संवाददाता
४ फाल्गुन २०७९, बिहीबार १०:१२

मकवानपुर । पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली भारतसँग बराबरी खेलेको छ । चेन्नईको जवाहरलाल नेहरु मैदानमा गएराति भएको खेलमा नेपालकी सावित्रा भण्डारीले दुई गोल गरेपछि खेल बराबरी भएको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चार गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ५६औं मिनेटमा भारतका सौम्या गुगुलोथले गोल गरेपछि भारतले अग्रता लिएको थियो । त्यस्तै खेलको ६८औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गरिन् । भारत २–० गोलले अगाडि रहेको अवस्थामा खेलको ९०औँ मिनेटमा सावित्राले पेनाल्टीमा गोल गरिन् ।

त्यस्तै इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल हारबाट जोगियो । यो खेलमा नेपालले पटक पटक गोल गर्ने मौका पाएको थियो तर सदुपयोग गर्न सकेन । गएको भदौमा दशरथ रङ्गशालामा भएको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएको थियो ।

ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गरेको हो । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आउँदो शनिवार हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*