शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा

बकैया दर्पण संवाददाता
४ फाल्गुन २०७९, बिहीबार ०९:५७

मकवानपुर । पाँचौं संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई २–० गोलअन्तरले हराउँदै एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा एभिनिरको जितका लागि क्याप्टेन युनिक ओनाले र सावाले गोल गरे । खेलको म्यान अफ द म्याच वीरगञ्ज युनाइटेडका उमेश कार्की घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । एभिनियरका लागि कप्तान यानिक योआनाले ३९ औँ मिनेटमा पहिलो गोल गरे । पहिलो हाफमा बीरगन्ज युनाइटेडले खेलमा सन्तुलन कायम राखेको थियो । यद्यपि पहिलो हाफ १–० ले पछि परेको बीरगन्जविरुद्ध ७४ औँ मिनेटमा साबाले गोल गर्दै सहज जितको आधार तयार पारे । वीरगञ्जले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि हार टार्न सकेन ।

दोश्रो क्वाटरफाइनल खेलमा बिहीबार त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*