बंगलादेशसँग नेपालले फाइनल खेल्ने

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार १०:२५

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा मंगलबार भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली परेको हो । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बंगलादेशले भुटानलाई ५-० गोल अन्तरले हराएको हो। अब नेपालले बंगालदेशसँग उपाधिका लागि बिहीबार खेल्नेछ । यस जितपछि बंगलादेशले ३ खेलमा ७ अंक जोड्यो । र, बंगलादेश शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । भुटान भने तीनै खेलमा पराजित हुँदै अंक विहीन रहेर प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशको जितसँगै भारत पनि बाहिरिएको छ । भारतले ३ खेलमा ४ अंक जोड्यो ।

नेपाल भने लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको छ । नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपालले मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले एक गोल फर्काईन् ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*