साफ यू-२० महिला च्याम्पियनसिप : जित्नै पर्ने खेलमा आज भारतसँग नेपाल खेल्दै

बकैया दर्पण संवाददाता
२४ माघ २०७९, मंगलवार ०९:४१

मकवानपुर । बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि त फाइनलमा स्थान बनाउन भारतलाई जित्नै पर्ने अवस्था छ । चार राष्ट्र सहभागी च्याम्पियनसिपमा भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उति नै अंक भएको घरेलु टोली बंगलादेश गोल अन्तरमा पछि रहेर दोस्रोमा छ ।

एक हार र एक जितबाट नेपालको तीन अंक छ र तेस्रो स्थानमा छ । पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको थियो । तुलनात्मक रुपमा भारत बलियो प्रतिद्वन्द्वी भएकोले नेपालका लागि फाइनल पुग्नु ठूलो चुनौती छ । नेपालसँग पराजित हुँदा भारत बाहिने अवस्था रहेकोले भारत नेपालसँग हार्न चाँहदैन ।

नेपालका प्रशिक्षक यामबहादुर गुरुङले भारत बलियो टिम भएको तर तयारी रामरो गरेको बताएका छन् । ‘हामी सबैलाई थाहा छ भारत बलियो टिम हो । तर, हामी खेलका लागि तयार भएर आएका छौं । यदि हामीले गोल गर्ने अवसर पाए हामी पक्कै गर्छौं,’ भारतीय फुटबल संघ एआईएएफसँग गुरुङले भनेका छन्, ‘भारत सधैँ उपाधि दाबेदारको रुपमा रहन्छ । विशेषगरी फिफा यू-१७ महिला विश्वक खेलेपछि राम्रो छ । र हामी भारत विरुद्ध राम्रो प्रदर्शन गर्न तयार छौं ।’
भारतीय टिमका प्रशिक्षक मायमोल रकीले नेपालको विरुद्धको खेल जित्नमा केन्द्रित हुने बताएका छन् । ‘हामीले नेपाललाई हल्का रुपमा लिनु हुँदैन । नेपालले यसअघिका दुवै खेलमा राम्रो खेलेको थियो । हाम्रो लागि सहज छैन र हामी पूर्ण रुपमा बलियो हुनुपर्छ ।’

मायमोलले खेल जित्नका लागि गोल गर्नुपर्ने बताइन् र अट्याकिङ थर्डमा ध्यान दिन सक्ने जित्ने विश्वास व्यक्त गरेका छन् । लगातार दुई खेलमा हारेको भुटान भने अंकविहित छ र फाइनल होडबाट बाहिरिसकेको छ । घरेलु टोली बंगलादेशले अन्तिम खेल भुटानसँग खेल्ने भएकोले सहज अवस्थामा छ । बंगलादेश भुटानसँग बराबरी खेले पनि फाइनल पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*