संकटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

बकैया दर्पण संवाददाता
२३ पुष २०७९, शनिबार १६:५९

मकवानपुर । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।

रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो । संकटाले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको हो । खेल अतिरिक्त समयमा धकेलिनु अघि खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए ।

खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २-१ को स्थितिमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल २-२ को बराबरी हुँदा अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले विजयी गोल गरे ।

उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाखमा चित्त बुझायो । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताबाट वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*