‘ए’ डिभिजन लिगको लागि क्लब दर्ता गर्ने समय आज सकिँदै

बकैया दर्पण संवाददाता
२२ पुष २०७९, शुक्रबार १०:३४

मकवानपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि क्लब दर्ता गर्ने समय शुक्रबार सकिँदैछ । बिहीबारसम्म ११ क्लबले नाम दर्ता गराएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । लिगमा तीन टोली दर्ता हुन बाँकी रहेका छन् । नेपालको ‘ए’ डिभिजनमा अहिले १४ क्लब रहेका छन् ।

हालसम्म चर्च ब्वाइज, त्रिभुवन आर्मी क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्री स्टार क्लब, संकटा क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले दर्ता गरेको एन्फाले जनाएको छ । मनाङ मर्स्याङ्दी क्लब, सातदोबाटो युथ क्लब र च्यासल युथ क्लबले दर्ता गर्न बाँकी छ ।

पुलिस क्लब बाहेक दर्ता भएका सबै क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ लिइसकेका छन् । एन्फाले लिगको तयारीका लागि प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने बताएको छ ।

शीर्ष डिभिजनको लिग आगामी फागुन १९ गतेबाट सुरू हुँदैछ । यसपटकको लिग दोहोरो राउण्ड रोबिनको आधारमा हुनेछ । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*