अविरल जनसाहित्य यात्रा–७४ मा प्रगतिवादी कवि मसान उपासकका एक दर्जन कविता गुञ्जिए

बकैया दर्पण संवाददाता
११ पुष २०७९, सोमबार १०:५६

मकवानपुर । शनिबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७४ औँ शृङ्खलामा हेटौँडामा रहेर सक्रियताका साथ कलम चलाइरहेका प्रगतिवादी कवि मसान उपासकका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् सामाजिक रूपान्तरण अभियानका सङ्घर्षशील अभियन्ता प्रेमनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो भने युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, प्रा.केशव सुवेदी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव एवम् राष्ट्रिय जनसाहित्यिक सङ्घका इन्चार्ज राममणि ढुङ्गेल, प्रगतिशील लेखक सङ्घकी उपाध्यक्ष नमुना शर्मा, डा.गोविन्दप्रसाद आचार्य, नर्मदेश्वरी सत्याल, गोपाल सञ्जेल, बिनोद मञ्जन, बिश्वनाथ सञ्जेल, केशव सञ्जेल, यात्रीप्रकाश पाण्डे, अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय जनसाहित्यिक सङ्घका कार्यालय सदस्य ज्ञानु विद्रोहीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा महासचिव प्रकाश सिलवालले कवि मसान उपासकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । उपासकका ‘मानचित्रमा देश’ कविता सङ्ग्रह र ‘अक्षर आराधन’ गजल सङ्ग्रह प्रकाशित भएका छन् । साहित्यका प्रायः सबै विधामा कलम चलाइरहेका उपासक दर्जनभन्दा बढी सङ्घसंस्थामा समेत क्रियाशील रहेका छन् ।

सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्न सक्ने स्रष्टा भएकाले अविरल जनसाहित्य यात्राको ७४ औँ शृङ्खलामा उपस्थित गराएको अध्यक्ष राम विनयले बताउनुभयो ।

सामाजिक रूपान्तरण अभियानलाई सघाउनका कविता सिर्जना गरेको बताउदै कवि उपासकले जब समाजमा, देशमा देखिएका बेथितिले दुखाउँछन् तब आफुले सिर्जना गर्ने र त्यही सिर्जनामार्फत आपूmलाई अभिव्यक्त गर्ने गरेको बताउदै कविता सिर्जनाको अन्तरगर्भको जानकारीका साथ ‘जानुअघि सहरतिर’, ‘विरुद्धमा विरुद्ध’, ‘नयाँ संविधान’, ‘काजल खातुन’, ‘कविहरू’, ‘जेब्राक्रसमा एक छिन’ शीर्षकका छ ओटा अत्यन्त सुन्दर एवम् सशक्त कविता पहिलो चरणमा वाचन गर्नुभयो भने दोस्रो चरणमा ‘सोच’, ‘क्वारेन्टाइन’, ‘छोरीको नाममा’, ‘..र त्यसपछि छोरालाई अरब बेचेँ’ ‘प्रियसीप्रति’ र ‘देशप्रति’ शीर्षकका छ ओटा त्यस्तै सुन्दर कविता वाचन गर्नुभयो ।

पहिलो चरणका छ ओटा कविता वाचनपछि नर्मदेश्वरी सत्यालले कविलाई शुभकामना व्यक्त गर्दै सामाजिक रूपान्तरण अभियानका अत्यन्त सक्रिय एवम् प्रतिभाशाली कविलाई आजको विशेष समारोहमा उपस्थित गराइएकोमा हर्षित भएको बताउनुभयो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै डा.रमेश शुभेच्छुले अविरल जनसाहित्य यात्राको ७४ औँ शृङ्खलामा पुगेको र यो अभियानमा आज म आपूm पनि कवि मसान उपासकका कविता सुन्न र कवितामाथि टिप्पणी गर्न उपस्थित हुँदा गौरवबोध भएको बताउनुभयो । निरन्तर नेपाली साहित्यका विविध विधामा कलम चलाइरहेका अत्यन्त सक्रिय, थोरैमा धेरै भन्न सकियो भने कविता सुन्दर र सशक्त हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्ने स्रष्टाका गाउँका, तराई केन्द्रित, द्वन्द्वको प्रतिनिधित्व गर्ने, सहरका, महामारीजन्य समयका, लैङ्गिकताका, युवा पलायनका, हार्दिक प्रेमका र राष्ट्रप्रेमका विषय समेटिएका कविता भएको आफुले पाएको शुभेच्छुको भनाई थियो ।

प्रमुख अतिथि महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो अभियान कला, साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान हो । महासङ्घका सबै घटकहरूले सिर्जनात्मक सक्रियता देखाउन् भन्ने अभिप्रायले छ वर्ष अगाडि थालनी भएको यो विशेष समारोहले निरन्तरता पाइरहेको छ । यसका लागि राष्ट्रिय जनसाहित्यिक सङ्घलाई म धन्यवाद दिन्छु । आजको यो विशेष समारोहमा सुन्दर, चोटिला कविता सुन्ने अवसर प्राप्त भएको छ ।

अर्काे महिनामा ७५ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यमा योगदान गरिरहनुभएका, प्रविधिका माध्यमबाट हाम्रा गतिविधिलाई संसारभर पुर्याउन सक्रिय भूमिका निर्वाह गरिरहनुभएका गुणग्राही एवम् प्रखर प्रगतिवादी कवि प्रशान्त खरेललाई प्रस्तुत गर्ने उपाध्यक्ष रमेश पोखरेलले जानकार दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*