बकैयामा सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

बकैया दर्पण : बकैया गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ घेदुङ संघ बकैयाको आयोजना, वडा नम्बर १ को समन्वय र गाउँपालिकाको संरक्षकत्वमा आगामी माघ १२ गते बकैया-१ स्थित चिसापानीमा कार्यक्रम हुने भएको हो ।
तामाङ घेदुङ संघ बकैयाकी अध्यक्ष लक्ष्मी लोप्चन तामाङका अनुसार सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा विशेष आकर्षणको रूपमा राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको सेलो साङ्गतिक प्रस्तुति र नृत्य प्रस्तुति बेजोड रहनेछ ।
साथमा तामाङ समुदायको मौलिक सांस्कृतिक परम्परागत रूपमा रहेका ताम्बा,लामा तथा झाँक्री प्रदर्शन हुँदै तामाङ समुदायले खानपिन गरेका विभिन्न खानाका परिकारहरुको स्टलहरु समेत राखिने उहाँले बताउनुभयो ।
कार्यक्रममा चर्चित कलाकारहरु मदन लामा, लगु शेर्पा, प्रतीक ब्लोन, सुशील तामाङ, चेतन स्याङ्तन, मनोज बल, जनक स्याङ्तन र संग्राम गोले लगायतले प्रस्तुति गर्ने भएको छ ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा र बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी लगायतको आतिथ्यता रहने अध्यक्ष जिम्बाले बताउनुभयो ।
यसअघि बकैया घेदुङले ल्होछारको अवसरमा वडा नम्बर ३ स्थित हात्तीसुंडेका बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।
यस पटक तामाङ समुदायले मन्जुश्री संवत् २८६१ औं डुल ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरि मनाउँने छन् ।