यस्तो छ पृथ्वीनारायण शाहको ससुराली घर [तस्बिरहरू]
बकैया दर्पण : मकवानपुर गढीको अलग्गै इतिहास छ । यहाँको दरबारलाई राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रूपमा इतिहासकारहरूले व्याख्या गरेका छन् । हेम कर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गाँसिएको र हेम कर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिएको इतिहासमा उल्लेख छ ।
नेपाल एकीकरणका बेला मकवानपुर गढीमा युद्ध जित्न गाह्रो हुने भएपछि नै पृथ्वीनारायण शाहले चलाखीपूर्वक ज्वाइँको सम्बन्ध गाँसेका थिए । उनले विवाहमार्फत नै मकवानपुरको सुरक्षा व्यवस्थाका रहस्यहरू बुझेको बताइन्छ । ऐतिहासिक, पुरातात्त्विक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी यति बेला पर्यटकहरूको रोजाइमा छ ।
मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू जीर्णोद्धार गरेर चिरिच्याट्ट पारेपछि उक्त ठाउँको महत्त्व झल्किएको छ । अग्लो डाँडामा रहेको गढीबाट अवलोकन गर्न सकिने प्राकृतिक दृश्यहरू पर्यटकलाई लोभ्याउने गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेटेको उक्त गढीमा ऐतिहासिक पक्षको अध्ययन र अनुसन्धान गर्न विशेष गरी विद्यार्थीहरू पुग्ने गरेका छन् ।
काठमाडौं, चितवन, मकवानपुर र तराइका विद्यार्थीहरू अध्ययन भ्रमण र पिकनिकमा रमाउन गढीमा उक्लने गरेका छन् । ऐतिहासिक महत्त्व, मनमोहक दृश्य र पुराना किंवदन्तीले यहाँ पुग्ने जो कोही लोभिने गरेका छन् ।
करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो मानिन्छ । करिब अढाई सय वर्ष पुरानो अग्लो डाँडाको टुप्पामा वरिपरि चारैतिर अग्लो पर्खालले घेरिएको यो मकुन्दसेनको दरबार पृथ्वीनारायण शाहको ससुराली घर भनेर चिन्ने गरिन्छ ।
सदरमुकाम हेटौंडाबाट करिब १७ किलोमिटर उत्तर–पूर्वमा रहेको यस स्थानमा ठूला–साना गरी करिब दुई सय गढी छन् । काठमाडौंको कान्तिलोकपथबाट हुँदै काठमाडौं–ठिगन–हेटौँडा ६८ किमि ३ घन्टामा जीपमा मकवानपुरगढी पुग्न सकिन्छ ।