चलचित्र ह्रस्व दीर्घले किन सारे प्रदर्शन मिति : यस्तो छ कारण

बकैया दर्पण संवाददाता
१५ भाद्र २०८१, शनिबार २०:३०

बकैया दर्पण : चलचित्र ह्रस्व दीर्घले किन सारेका हुन यसरी रिलिज डेट नतोक, चलचित्र बनाऊ । रिलिज डेट तोक्न हतार नगर, ढुक्कले मन लागेजस्तो सिनेमा बनाउ, अनि मात्रै प्रदर्शनको मिति तोक ।

आरामले समय लिएर सिनेमा बनायो भने चलचित्र राम्रो बन्ने सम्भावना रहन्छ । हतारको काम राम्रो हुँदैन । त्यसैले सिनेमा बनाउँदा बनाउँदै सोचेजस्तो नहुन सक्छ ।

तर, नानीदेखि लागेको बानी किन छुट्थ्यो र ? छुटाउन कठिन हुन्छ । नेपाली सिने क्षेत्रका घटनाक्रमले यो उखानलाई पुष्टि गर्दै लगेका छन् ।

अघिल्लो हप्ता चलचित्र ‘ह्रस्व दीर्घ’ले रिलिज डेट पछि सार्यो । उसले सर्नुको काराण बतायो, भीएफएक्सको काम भइरहेको छ । प्राविधिकले कम्तीमा थप एक महिना समय मागे, त्यसैले रिलिज डेट पछि सार्नु परेको हो ।

हतारमा रिलिज डेट तोक्दाको परिणाम थियो, रिलिज डेट पछि सार्नुको ।

यही मंगलबार मात्रै अर्को चलचित्र ‘आउट ल : दफा २१९’को निर्माण टिमले यो आफ्नो सिनेमाको रिलिज डेट पछि सार्यो । यसले पनि सिनेमा पछि सार्नुको पछाडि दिएको कारण ‘ह्रस्व दीर्घ’को भन्दा फरक छैन ।

निर्माण टिमले विज्ञप्ति नै जारी गर्दै भन्यो– केही सुटिङ र पोस्ट प्रोडक्सनको काम नै बाँकी छ । त्यसैले पूर्वनिर्धारित समयमा सिनेमा आउन सकेन, क्षमा माग्नेछौँ ।

यो पनि रिलिज मिति अगाडि नै तोक्दाको समस्या थियो ।

यी त भए पछिल्ला दुई उदाहरण । यी त प्रतिनिधि घटना र सिनेमा मात्रै हुन् । यस्ता थुपै्र चलचित्र छन्, जसले अन्तिम समयमा आएर रिलिज डेट पछि सार्छन् । एउटा मितिका लागि भनेर प्रचार गरिएको समयमा सिनेमा नआएपछि फेरि अर्को रिलिज डेटका लागि प्रचार गर्नुपर्छ । एकातिर दर्शक कन्फ्युज अर्कोतिर निर्माताको पैसा बर्बाद ।

त्यसैले ठण्डा दिमागले ढुक्कले काम गर्नुपर्छ । हतारमा होइन सोचबिचार गरेर काम गर्नुपर्छ । पहिलो दिन नै सिनेमा क्लिक भएन र वर्ड अफ माउथ राम्रो भएन भने निर्माताको २-३ करोड रुपैयाँ एकै दिनमा बालुवामा पानी हुन्छ । त्यसैले कच्चा दिमागले होइन अक्कल पुर्याएर काम गर्नुपर्छ ।

त्यसै कहाँ हो र बर्सेनि ९५ प्रतिशत सिनेमाले घाटा व्यहोरेको ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*