बुवाको मुख हेर्ने दिन, के छ वैदिक महत्व ?

बकैया दर्पण संवाददाता
१७ भाद्र २०८१, सोमबार ०९:४७

बकैया दर्पण : आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशे गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ ।

हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको प्रतीकको रूपमा चिनिन्छ र आजकै दिन यो पवित्र वनस्पति कुशलाई आ-आफ्नो घरमा भित्र्याइन्छ, जुन वर्षभरि गरिने देवकार्य वा पितृकार्यका लागि अति उपयोगी वनस्पतिको रुपमा लिइन्छ । कुशको महिमा वेद तथा पुराणहरूमा समेत वर्णन गरेको पाइन्छ ।

पिता धर्मः पिता स्वर्गः, पिता हि परमं तपः ।
पितरि प्रीतिमापन्ने, सर्वा: प्रीयन्ति देवताः ।।

आजकै दिन आफ्नो बुबा र पूर्वजहरूको सम्मान गर्ने दिनका रूपमा पनि मनाइन्छ । यस दिन पितृहरूको तर्पण, पूजा, ब्राह्मण भोजन र दानको माध्यमबाट उनीहरूको आत्मा शान्ति र मुक्ति प्राप्त गर्न प्रार्थना गर्ने गरिन्छ ।

आज पिताको महत्त्व र योगदानलाई मान्यता दिने अवसर हो । बाबुको मुख हेर्ने परम्पराले पिताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्छ, जसले परिवार र समाजमा पिताको स्थान र योगदानको महत्त्वलाई उजागर गर्छ । जसले पारिवारिक एकता र आदरको विशेष स्थान राख्छ ।

उखेलेको कुश एक वर्ष र कुशे औंसीको दिन सोमबार (सोमबारे औंसी) पर्न गएमा १२ वर्षसम्म कुश काम लाग्ने अर्थात् ऊर्जा शक्तिले पूर्ण हुने शास्त्रोक्त वचन रहेको छ ।

कुशलाई आयुर्वेदिक दृष्टिकोणबाट पनि हेर्न सकिन्छ– कुशको प्रयोग आयुर्वेदिक औषधिहरूमा पनि गरिन्छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जरा र यसको पत्ताबाट रक्तसञ्चारमा, पत्थरीमा, अल्सर, मूत्ररोग, पायल्स साथै अन्य रोग प्रतिरोधक क्षमता कुशको सेवनले बढाउने, मुटुको चाल सन्तुलित राख्ने सामर्थ्य कुशमै रहेको र अन्य विविध प्रकारका रोगहरुलाई नियन्त्रण तथा निर्मूल पार्न सक्ने क्षमता कुशमा रहेको छ भनिएको छ ।

यसरी कुशको धार्मिक दृष्टिकोण मात्र नभई वैज्ञानिक महत्त्व, प्राकृतिक संरक्षण र स्वास्थ्यको दृष्टिकोणबाट पनि अत्यन्तै महत्त्वपूर्ण बनाएको छ ।

गुरु देबराज सुवेदी (बकैया ७ हात्तिखोला )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*