सिस्नुपानी नेपाल मकवानपुरले खेल्यो सिस्नुपानी देउसी

बकैया दर्पण संवाददाता
६ कार्तिक २०७९, आईतवार ११:३७

मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले शनिबार देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विभिन्न प्यारोडी गीतहरूका साथै हास्यव्यङ्ग्यमय भजन, प्रवचन आदिमार्फत् वेथितिमाथि व्यङ्ग्य प्रहार गरिएको थियो ।

वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालद्वारा शङ्खनाद गरी शुरु भएको सो कार्यक्रम क्लब हेटौंडामा सञ्चालन भएको हो । कार्यक्रममा हास्यव्यङ्ग्यमय भजन गायन गरेका ओमभक्त भण्डारीको टोलीको प्रस्तुतिले निकै वाहवाही पाएको थियो ।

यस्तै, सिस्नुपानी मकवानपुरकी कान्छी सदस्य स्वस्तिका दाहाललाई प्यारोडी गायनका कारण कार्यक्रमस्थलमैं पुरस्कार समेत प्राप्त भएको थियो ।

सिस्नुपानी मकवानपुरका सल्लाहकार आशाकाजी श्रेष्ठले सांगीतिक टोलीका प्रमुखको भूमिकामा रही केही सांगीतिक प्रस्तुति दिनुभएको थियो । प्रलय चौलागाई, सुनिल केसी, विश्वराज अधिकारी तथा प्रमेन्द्र महर्जनको साथमा सांगीतिक जिम्मेवारी बहन गर्नुभएको थियो ।

सिस्नुपानी मकवानपुर समूह तथा गायनमा सकृय महिलाहरूको टोलीको भैलीबाट शुरु भएको विशेष प्रस्तुतिको अन्त्य संगीतकर्मी गहन खतिवडाको आशिष गायनपछि समापन भएको थियो ।

देउसी भैलो कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडा, शिक्षासेवी पुरनबहादुर जोशी, एनजिओकर्मी कृष्ण धिताल, विनोद सुवेदी, दिनेश भण्डारी, जिल्ला हुलाक कार्यालयका कर्मचारी समूहबाट रमेश लामिछाने, बुढ्यौली समाजतर्फबाट आर.सी. रिजाल आदिले नगद सहयोग गर्नुभएको थियो ।

सिस्नुपानी नेपालले हरेक वर्ष गर्ने देउसी भैलो कार्यक्रमलाई मकवानपुर शाखाले अघिल्लो वर्षदेखि निरन्तरता दिँदै आइरहेको छ ।

कार्यक्रमको अध्यक्षता सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले गर्नुभएको थियो भने रेडियोकर्मी विनिता महतले सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*