जाेशिकाे १०३ वर्षको उमेरमा निधन

बकैया दर्पण संवाददाता
३० आश्विन २०७९, आईतवार ०८:०७

मकवानपुर । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाउनुभएकाे छ। स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।

अस्पताल स्रोतका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शुक्रबार जटिल बनेको थियो । जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी हुनुहुन्थ्यो ।
संस्कृतिविद्को आमचिनारी बनाएका भए पनि सत्यमोहन जोशी जीवनका अनेकन कुइनेटाहरूमा कहिले औद्योगिक तथा व्यापारिक समाचार संग्रह अड्डाका तथ्यांक संकलक भए त कहिले पुरातत्त्व विभागका निर्देशक, कहिले नेपाल-अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरी हुनुभयाे त कहिले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ हुनुभयाे । जहाँ जे भए पनि सत्यमोहनले इतिहास र संस्कृतिको खोजीमेली, लोकभाका र लोकसंस्कृतिको खोज अनुसन्धानको काम भने जारी नै राख्नुभयाे

वि.सं. २०२६ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाइमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदन पुरस्कार पाउनुभएकाे थियाे । त्यसअघि नै जोशीले हाम्रो लोक संस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी दुईपटक मदन पुरस्कार पाउनुभएकाे थियाे ।

जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उहाँ पहिलो नेपाली नागरिक पनि हुनुहुन्छ । जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*