झुमरमाथि हेटौँडामा विमर्श

बकैया दर्पण संवाददाता
११ आश्विन २०७९, मंगलवार १०:५२

मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरले दशैंतिहारका अवसरमा शुभकामना आदानप्रदान तथा सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’माथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार भएको उक्त कार्यक्रममा वक्ताहरू घनश्याम घिमिरे, निरा शर्मा र छवि अनित्यले बोल्नु भएको थियो ।

उक्त कार्यक्रममा सर्जक सञ्जाल, मकवानपुरका संयोजक निमेष निखिल प्रमुख अतिथि तथा वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाल विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा औपन्यासिक कृति ‘झुमर’का पाठकहरूको विचारसमेत सुन्ने व्यवस्था गरिएको थियो । सर्जकहरू प्रलेस केन्द्रिय सदस्य मसान उपासक, सुवास खनाल, देवराज तिवारी, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने आदिले शुभकामना मन्तव्य तथा कृतिमाथि आफ्ना धारण व्यक्त गर्नुभयो ।

समीक्षक घनश्याम घिमिरेले यस उपन्यासमा नौलोपन दिने प्रयास गरिएको, कथावस्तुलाई शीर्षकबीचमा व्यवस्थापन गरिएको तथा जाँदाजाँदै भन्दै कथा सुहाउँदो प्रस्तुति उपन्यासको अन्त्यतिर लेखकले उल्लेख गरिएको बताउनुभयो । साथै उहाँले अप्ठेरो शब्दको प्रयोगभन्दा पनि सजिला शब्द वा भाषालाई अप्ठेरो स्थिति वा तरिकाले लेखनमा उतार्नु लेखकको मूख्य विशेषता बताउनुभयो ।

वक्ता तथा पाठकहरूका जिज्ञासालाई उपन्यासकार क्षेत्रीले प्रष्ट पार्नु भएको थियो भने उहाँले ‘मकवानपुरमा महिलाहरूद्वारा स्थापित आँचलले मनै लोभ्याएको र यस्तो संस्था अन्यत्र नदेखेको’ बताउनुभयो ।

आँचलकी संस्थापक अध्यक्ष मुना अर्यालले पहिलो उपन्यासका लागि शुभकामना तथा उपन्यासमा पढेकी युवतीले प्रेममा अन्धो भएर नै सम्बन्धविच्छेदपछि पनि श्रीमानको सम्पत्ति नलिइकन बेगल बस्ने इच्छाले नै उनलाई ‘झुमर’की नायिकाका रुपमा प्रस्तुत गर्न सफल भएको बताउनुभयो । कार्यक्रम समापनपछि उपन्यासकार क्षेत्रीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*