वकैयामा प्रज्ञा प्रतिष्ठान गठन, गौतम संयोजक, उपासक सदस्य सचिव चयन

बकैया दर्पण संवाददाता
४ आश्विन २०७९, मंगलवार ०७:३१

मकवानपुर । बागमति प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरको वकैया गाउँपालिकामा दीपक गौतमको संयोजकत्वमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ ।

सोमबार वकैयाको महेन्द्र माविमा भएको झरना साहित्यिक परिवारको चौथो अधिवेशनमा गौतमकोे संयोजकत्वमा सर्वसम्मत ९ सदस्यीय प्रज्ञा प्रतिष्ठान गठन भएको हो । मकवानपुरका १० वटा पालिका मध्ये स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने बकैया पहिलो पालिका बनेको छ ।

बकैया गाउँपालिकाको २०७८ चैत १० गते बसेको कार्यपालिका बैठकबाट स्वीकृत कार्यविधिअनुसार ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’ दीपक गौतमको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । सदस्यहरुमा बिश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, कृष्ण घतानी, सन्तराम राई, कुमार स्याङ्वो र शुभलक्ष्मि प्रभा चयन भएका छन् । प्रतिष्ठानको सदस्य सचिवमा मसान उपासकलाई चयन गरेको छ ।

तदर्थ समितिका संयोजक गौतमले कानुनी प्रक्रिया पूरा गरी प्रतिष्ठानलाई ६ महिनाभित्र पूर्णता दिइने प्रतिबद्धता जनाउनुभयो । पालिकामा साहित्यिक क्रियाकलापको नेतृत्व झरना साहित्यिक परिवारले नै गरेकोले आगामी दिनमा पनि झरनासँगै सहकार्य गरेर पालिकाले प्रतिष्ठान गठन गरेको गौतमले बताउनुभएको छ ।

यता वकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाले कला,भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा निमेष निखिल, आरसी रिजाल, राजकुमार लामिछाने, श्रीराम अधिकारी, सम्प्रस पौडेल, कुवेर पराजुली, वकैया गाँउपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, वकैया गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतको उपस्थीति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*