वकैयाका किसानले अझै पाएनन् धान क्षतिको रकम

बकैया दर्पण संवाददाता
५ भाद्र २०७९, आईतवार १५:३२

मकवानपुर । ४ महिना अगाडि गतवर्ष धान खेतिमा भएको क्षतिको राहत पाउनेहरुको सुचि प्रकाशित भए पनि अहिलेसम्म रकम नपाउँदा वकैया गाउँपालिकाका कृषकहरु आक्रोशित बनेका छन् ।

धान भित्राउने समयमा बेमौसमी बर्षाले क्षति पु¥याएपछि संघिय सरकारले आह्वान गरे बमोजिम बुझाएको विवरण अनुसार ४ महिना अगाडि नै राहत रकम आए पनि आफुहरुले सो रकम नपाएको उनीहरुको गुनासो छ ।

पोषबहादुर घिमिरे वकैया–७ निवासी स्थानिय कृषक हुन् । गतवर्ष धान भित्राउने समयमा पानी परेर उनको धान खेतमा नै उम्रियो । सरकारले क्षतिपूर्तिको लागि फाराम भर्न भनेपछि उनले आफ्नो ७ कठ्ठा जमिनको धानको पूर्ण क्षतिको विवरण भरे । सरकारले उनलाई क्षतिपुर्ति स्वरुप १६ हजार रुपैया सहयोग पाउने विवरण स्थानिय गाउँपालिकालाई पठायो । धानको राहत पाउने भएपछि उनी खुसी भए । गाउँपालिकाले भने बमोजिम उनले समयमा नै नजिकैको बैँकमा पुगेर ५ सय रुपैया राखेर खाता खोले तर उनले अहिलेसम्म सो राहत रकम पाउन सकेनन् । जिल्ला प्रशासन कार्यालयले ऐलानी जग्गालाई क्षतिपुर्ति नदिनु भन्ने जानकारी गराए बमोजिम रकम पाउन नसकेको उनी बताउँछन् ।

यस्तै पिडा हस्तबहादुर गुरुङलाई पनि छ । १ बिगाह १० कठ्ठा जमिनमा लगाएको धानको क्षतिपुर्ति पाउने विवरण आयो तर भुत्तानी नपाएपछि उनी भोट हाल्ने समयमा ऐलानी/नम्वरी नहुने अहिले सुविधा पाउने बेलामा ऐलानी/नम्बरी छुट्ट्याउने भनेर राजनीतिक दलहरुप्रति आक्रोशित बने ।

ठाकुरप्रसाद वोलखेको पनि १ विगाह १० कठ्ठा खेतमा लगाएको धान बोटमा नै उम्रियो । पठाएको विवरण अनुसार ३७ हजार राहत स्वरुप प्राप्त गर्ने भए । तर जग्गा ऐलानी भएकै कारण उनले पनि भुक्तानी पाएनन् । उनी भन्छन्– “पहिला नै नम्बरीले मात्र पाउने भनेको भए हामी फारम नै भर्ने थिएनौँ । एक हाम्रो वर्षभरीको मेहनत खेर गयो, अर्को समयको वर्वादी भयो । सरकारले हामीलाई काखा र पाखा ग¥यो । यो त न्यायोचित भएन ।”

यी त प्रतिनिधिमुलक पात्र हुन् । बकैया गाउँपालिकामा ६५ प्रतिशत खेतियोग्य जमिन ऐलानी छ । ऐलानी भएकै कारण ३ सय ८८ घरपरिवारको क्षतिपुर्ति पाउने नाम सिपारिस भए पनि जम्मा ५६ घरपरिवारले मात्र राहत पाएका छन् ।

वकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दा ऐलानी जग्गालाई क्षतिपुर्ति दिन नमिल्ने भन्नुभएको बताउनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भने गाउँपालिकाको सिफरिस अनुसार नै क्षतिपुर्ति पाउने बताउनुहुन्छ ।

तर किसानहरुले भने सरकारी निकायविच एकअर्कालाई दोष थोपर्न खोज्दा अझै राहत रकम पाउन सकेका छैनन् ।

बकैया गाउँपालिकाको हकमा राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्गले ऐलानी जग्गालाई पनि मुआब्जा वितरण गरेको छ । यस व्यवस्थालाई हेर्दा, मकवानपुर जिल्लाको हकमा ऐलानी जग्गाको धानको क्षतिपुर्तिस्वरुप राहत दिँदा कुनै अड्चन देखिदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*