हेटौँडा–फापरबारीसम्मको भाडा घट्यो तर पक्की र कच्ची सडकमा ठूलो बिभेद

बकैया दर्पण संवाददाता
३१ श्रावण २०७९, मंगलवार १५:५७

मकवानपुर । पूर्वि मकवानपुरको मदन भण्डारी लोकमार्ग अन्र्तगत हेटौँडाबाट फारबारी (वागमती गाउँपालिका) सम्मको यात्रुबाहक सबारीको भाडा समायोजन गर्दा पक्की र कच्ची सडकमा बिभेद गरिएको छ । सार्वजनिक यातायातका सञ्चालकहरुले मनलाग्दी हिसाबमा यात्रुसँग भाडा असुल गरेको विषयमा समाचार प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको सरोकारवालाको बैठकले भाडा समायोजन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकले हेटौँडाबाट फापरबारीको पाचपाण्डव (बागमती नदिको पुल) सम्मको भाडा प्रतिकिलोमिटर ३ रुपैँया ७२ पैसा कायम गरेको हो । बैठकले उक्त भाडादर सोमबारबाट लागु गर्न निर्देशन समेत दिएको छ ।

नयाँ भाडादर अनुसार अब हेटौँडाबाट छतिवन (२५ किलोमिटर)सम्म ९३ रुपैँया हुने छ । हात्तिसुडे (३१ किलोमिटर) १ सय १५ रुपैँया तथा फापरबारी (४७ किलोमिटर) को १ सय ७५ रुपैँया कायम भएको छ । तर कच्चि सडकमा भने भाडादर कम नभएकोमा स्थानिय रुष्ट बनेका छन् ।

नयाँ कायम गरिएको भाडादर अनुसार हेटौँडाबाट श्रीपुरसम्म रु ८५ भाडादर कायम गरिएको छ भने श्रीपुरबाट राजदमारसम्म पुग्न रु ११० कायम गरिएको छ । उक्त स्थानमा पुग्न श्रीपुरबाट करिव १ किलोमिटर कच्चि सडक मात्रै पार गर्नुपर्ने हुन्छ । यसरी हेर्दा कच्चि सडकमा १ किलोमिटरको रु २५ तिर्नुपर्ने अबस्थामा स्थानिय बासिन्दा रहेका छन् । यस्तै भिरकोट पुग्न ११० र १३० फरक मूल्य तोकिएको छ । नेपाली काङ्ग्रेस बकैया गाउँपालिका कमिटि सहसचिव युवराज थापाले सामाजिक सञ्जालमा यसको बिरोध गर्दै कच्चि सडकमा धेरै भाडा उठाउने निर्णयका बिरुद्धमा यातायात बन्द गरेर बिरोध गर्नुपर्ने आवाज उठाउनुभएको छ ।
भाडा दरको विषयमा कुरा गर्दै नारायणी यातयात ब्यवसायी प्रालिका सञ्चालक विश्व राईले पहिले कच्ची रुट रहेको स्थानमा केहि समयबाट मात्र पक्की सडक सञ्चालनमा आएको र ती सडकमा यो बर्षबाट मात्रै १२ महिनै यातायात चल्न शुरु भएको कारण पहिल्यै भाडा समायोजन हुन नसकेको बताउदै पहिलो पटक भाडा समायोजन गरिएकाले केही प्राबिधिक कमजोरी भएको स्वीकार गर्दै केही दिनभित्र सच्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले आईतबारबाट समायोजनमा आएको भाडादर लागु गर्न आफुहरु प्रतिवद्ध भएको उल्लेख गर्नुभयो ।

बैठकले जिल्ला भित्रका विभिन्न मार्गहरूमा सञ्चालन हुने सवारी साधनहरूको लागि अस्थायी बाटो तथा भाडा निर्धारण सिफारिसको लागि श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, हेटौडाका प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख हरिहर पोख्रेलको संयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*