हेटौंडाका अटो/मयुरीमा स्टीकर टाँस्न सुरु

बकैया दर्पण संवाददाता
१९ श्रावण २०७९, बिहीबार १६:१७

हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालन गर्न अनुमति प्राप्त तीन पाङ्ग्रे अटो तथा मयुरीमा स्टीकर टाँस्न सुरु गरिएको छ । हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालनको अनुमति नभएका तीन पाङ्ग्रे अटो तथा मयुरीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या भएसँगै हेटौंडा उपमहानगरपालिकाको अग्रसरतामा अटो तथा मयुरी व्यवसायी संघको सहमतिमा स्थानीय प्रशासन र प्रहरीको समन्वय र सहभागितामा स्टीकर टाँस्ने कार्य सुरु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक समारोहका बीच बिहीबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले अटोमा स्टीकर टाँस्ने कार्यको सुरुवात गर्नुभयो । हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालनको अनुमति पाएका करिब ७ सय अटो तथा मयुरी भए पनि अहिले ३ हजारभन्दा बढी संख्यामा अटो तथा मयुरी सञ्चालनमा रहेको अनुमान गरिएको छ । स्टीकर टाँस्ने कार्यले उपमहानगरको राजश्व आम्दानी बढ्नुका साथै ट्राफिक व्यवस्थापन हुने नगर प्रमुख मीना कुमारी लामाको भनाइ छ ।
स्टीकर टाँस्ने कार्य सुरुवातकै अवसरमा प्रहरीको कारवाहीमा नपरेको, सेवाग्राहीलाई जिम्मेवार भएर सेवा दिएको भन्दै मयुरी चालक कृष्णप्रसाद दुलाल र इन्दिरा सापकोटालाई नगदसहित सम्मान गरिएको छ । स्टीकर टाँस्न सुरुवात गर्ने कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्य, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतम, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुनेन्द्र थापाको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*