मकवानपुरमा सवारी कारबाहीबाट २ करोड बढीको राजस्व संकलन

बकैया दर्पण संवाददाता
१६ श्रावण २०७९, सोमबार १०:५०

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा सवारीसाधन कारबाहीबाट २ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने साना तथा ठुला सवारीहरूबाट गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा ३० हजार ३ सय २७ वटा सवारी साधनलाई विभिन्न समयमा गरेको नियमित तथा छड्के चेकजाँच गरी कारबाही गरेको थियो । कारबाहीमा परेका सवारी साधनबाट जरीवाना बापत गत साउनमा १७ लाख ५८ हजार, भदौमा १७ लाख ५८ हजार रुपैयाँ, असोजमा २४ लाख ३१ हजार, कार्तिकमा ३३ लाख ८२ हजार रुपैयाँ र मङ्सिर मा १७ लाख ७१ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो ।

यसैगरी, पुसमा १८ लाख ५१ हजार ५०० रुपैयाँ, माघमा १९ लाख ४१ हजार ५०० रुपैयाँ, फागुनमा १६ लाख ८० हजार, चैत्रमा १५ लाख १८ हजार ५०० रुपैयाँ, बैशाखमा १४ लाख ६१ हजार ५०० रुपैयाँ, जेठमा १७ लाख ६० हजार ५०० रुपैयाँ र असारमा २६ लाख ६० हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा सबैभन्दा बढी ट्रक रहेका छन् । कार्यालयले गत आर्थिक वर्षमा ९ हजार २ सय ४७ ट्रकलाई कारबाही गरेर ७२ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने ४ हजार ३ सय १८ बसलाई कारबाही गरी ३२ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै, कार्यालयले ५ हजार ८ सय ६७ कार र जिपलाई कारबाही गरी ४५ लाख २३ हजार ५०० रुपैयाँ, १ हजार ५४७ ट्याक्टरलाई कारबाही गरी १३ लाख ३५ हजार ५०० रुपैयाँ र ६ हजार १८ वटा मोटरसाइकललाई कारबाही गरी ४४ लाख ७६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*