मकवानपुरकाे भेटेरिनरी अस्पतालले किनेकाे घाँसका बिरुवा किसानलाई वितरण नगरि फालियो

बकैया दर्पण संवाददाता
८ श्रावण २०७९, आईतवार १४:१२

मकवानपुर । असार अन्तिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले खरिद गरेको घाँसका बिरुवा किसानलाई वितरण नगरि त्यसै फालिएको छ । मकवानपुरगढी गाउँपालिकाका ८ वटै वडाका किसानका लागि भनेर खरिद गरेर लगिएको घाँसका बिरुवा कुहिने अवस्थामा पुगेका छन् ।

मकवानपुरगढीको पशु शाखा प्रमुख सत्यनारायण शाहका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कुनै समन्वय नगरेको र बिरुवा किन ल्याएर फालियो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । तर मकवानपुरगढीका पशु शाखाका कर्मचारीलाई बुझाएर गएको भर्पाइ आफूसँग रहेको पशु सेवा विज्ञ केन्द्र मकवानपुरका योजना शाखाका अधिकृत देवराज पराजुलीले बताउनुभएको छ ।

विज्ञ केन्द्रबाट आएको घाँसको बिरुवा समयमै किसानले नपाउँदा खेर गएको छ । लाखौँ रुपैयाँ खर्चिएर उत्पादन गरिएको घाँसको बिरुवा किसानलाई वितरण नगरि खेर फालिएकोमा किसानले चिन्ता व्यक्त गरेका छन् । विभिन्न जातका घाँसका बिरुवा मकवानपुरका १० वटै पालिकाको किसानको हातमा वितरण गर्नुको सट्टा असार महिनाको अन्तिममा पालिकाका एक/एक ठाउँमा लगेर त्यसै छोडिएको स्थानीय किसानले गुनासो गरेका छन् । आफूले उन्नत बिरुवा नपाएर वर्षौँदेखि घाँसको समस्या भोग्नुपरेको तर आएका बिरुवा पनि जथाभाबी फालिएको किसानको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*