हेटौंडा क्याम्पस अपडेट : परीक्षार्थीमाथि दुर्व्यवहारबिरुद्ध हेटौंडा क्याम्पसमा तालाबन्दी र तोडफोड

बकैया दर्पण संवाददाता
४ श्रावण २०७९, बुधबार १२:५९

स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुर्व्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले विरोध जनाइरहेका छन् । मंगलबार परीक्षा दिन आएका विद्यार्थीमाथि दुर्व्यवहार भएको घटनालाई लिएर विद्यार्थीले बुधबार बिहान हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै तालाबन्दी तालाबन्दी गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पसमा तोडफोड समेत गरेका छन् । क्याम्पसको झ्यालको सिसा फुटेको छ ।

मकवानपुर बहुमुखी क्याम्पसका परीक्षार्थीलाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायतकाले विरोध जनाएका छन् । परीक्षार्थीले चिट लुकाएको आशंकामा क्याम्पसका कर्मचारी र प्रहरी समेतले छात्राको भित्री बस्त्र समेत खोल्न लगाई खानतलासी गरेको पीडित विद्यार्थीको आारेप छ । पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईले पनि घटनाको विरोध गरेको छ ।
यता हेटौंडा क्याम्पस प्रशासनले घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडित विद्यार्थी, विद्यार्थीका अभिभावक, विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग छलफल भइरहेको र छानविन गरी दोषीमाथि कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । क्याम्पस प्रशासनले संयमित भइदिन पनि अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*