प्रयोगशालामा तिमी र म

कविता
कवि अनिल कोइराला
३१ असार २०७९, शुक्रबार ११:५५

अनेक प्रयोग हुनेछ
जिन्दगी नामक प्रयोगशालामा ।

तिमीलाई
कहिले उचालिन्छ ।
कहिले नमज्जाले पछारिदिनेछन् ।
कहिले हौसलाले थप्थपाउँछन् ।
त कहिले बचनको बाणले कटाक्ष गर्ने छन् ।

यो समयमा होशियार हुनुपर्छ
हामीले विशेषगरी ।
तिमीलाई मेरा बानीमा,कसैले खोट देखाउन सक्छन्
कसैले तिम्रा कमजोरीमा, मलाई उक्साउन सक्छन् ।
बनी रहेको घर खण्डहर बन्न केही समयलाग्दैन ।

मान्छेहरू ढुङ्गालाई मुर्तरुप दिन होस्
या……
कमोल मुटुलाई कठोर बनाउन सिपालु छन् ।

कहिले काँही,
लाग्छ, मान्छे इर्ष्याको बुर्कुसी चढेर
मान्छेको सम्बन्ध बिगार्न के सम्म गर्दैनन्

त्यसैले विश्वासको झिनो दियोमा तिमी तेल थपिरहनु
म छेकिरहनेछु, हावाका वहावहरूलाई
हामी माथी हुने प्रयोग त सम्भवत् भैरहन्छन्……

सुन्ने र मन्न गर्ने क्षमता हामिले विकास गर्नु छ
तिमी मेरो आत्मबल बन्नु
म तिम्रो शक्ति बनुँला
जतिनै प्रयोग भएपनि हामी माथि
निश्चयनै जीत हाम्रो केवल हाम्रो हुनेछ !

हेटौँडा निवासी कवि अनिल कोइराला युवा पुस्ताका राम्रा कवि हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*